बीआरआईका आयोजनाको कार्यान्वयनको वातावरण बनाउन लीलाई प्रचण्डको आग्रह

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले विकास र समृद्धिका लागि रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरे । उनले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए ।

नेपालमा दसैँ, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह पनि गरे । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे ।

दुई पार्टीबीचको सम्वन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाइ थियो । 

‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सी जिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्,’ प्रचण्डले भने । 

उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए । 



चिनियाँ पक्षको तर्फबाट अध्यक्ष लीले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरे । 

उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताए ।



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १४:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया