सांसदहरूको माग : डेंगु नियन्त्रणका लागि सरकारले विशेष ध्यान दियोस्
फाइल फाेटाे

राष्ट्रियसभाका सांसदले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अत्यावश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । 

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले मिटरब्याजीबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्तिसमेत जनाए । 

सांसद दाहालले भने, ‘मिटरब्याजीले आमजनतालाई ठगी गरिरहेको कुरा र व्यापक रूपमा मिटरब्याज असुल गर्दै ठगी गरेको कुरा आएको छ । तर, ती न्याय माग्न गएकालाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरूको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ । यस्तो काम अविलम्ब रोकियोस् । भनेर म माग गर्न चाहन्छु । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्षज्यूमार्फत् । र, अहिले सिटामोलको अभावले देशमा त्यसको व्यवस्था अविलम्ब गरियोस् ।’

माओवादी केन्द्रका सांसद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 

सांसद शर्माले भने, ‘यो देशमा कोरोनासँगै डेंगु रोग भयावह स्थिति सृजना भएको छ । र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आईरहेको छ । यो व्यापक रुपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनु पर्दछ । बाढी-पहिरोबाट जनता आहत भएका छन । उद्दार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’



एमालेका अर्का सांसद भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले औषधि सिटामोल समेत प्राप्त नगरेको कुरा आएको छ । यो देशव्यापी भइसकेको छ ।’

सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोपसमेत लगाए ।



  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १४:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया