प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?
फाइल तस्बिर

प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउने बीचको मूल्याङ्कन नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन् । उनले अब बन्ने संसदमा सांसदहरूको बायोमेट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गरे । 

सांसद प्रधानले संसद बैठकमा गणक पुरक संख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै संसदहरूप्रति नकारात्मक समाचार बाहिर गएको बताए । उनले सांसदहरूको बायोमेट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरूको सही मूल्याङ्कन हुनुपर्ने बताए । 

त्यस्तै, सांसद मनकुमारी जिसीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले प्राथमिक तहदेखि उच्च माविसम्मका शिक्षकहरूको माग सम्बोधन नभएसम्म गुणस्तरीय शिक्षा हुन नसक्ने बताइन् । सांसद जिसीले सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनमा ध्यान नदिएको बताइन् ।

सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरूले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाए । उनले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने,नेता र कायकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्त्व हरू रहेको दाबी गरे । उनले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गर्न आग्रह गरे ।

सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरूको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राखे । उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए  । उनले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताए । 

त्यस्तै सांसद मिना पाण्डेले नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताइन् । उनले विधेयकमा अंगीकृत नागरिकतालाई खुला नगरेको भन्दै राष्ट्रपति त्यही समस्यामा अल्झिन नहुने बताइन् ।



त्यस्तै सांसद यज्ञराज सुनुवारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले उठाएका गम्भीर सवालमा सरकार र महाअभियोग मा हस्ताक्षर गर्ने सांसदहरु नबोल्दा संशय पैदा भएको बताए । उनले महाअभियोग लाई मंसिर ४ गतेको निर्वाचनमार्फत जनअभियोगमा रूपान्तरण गर्ने प्रयास भइरहेको हो ? भन्ने प्रश्न उठेको बताए । 

 सांसद यशोदा गुरुङ सुवेदीले सार्वभौम संसदलाई निर्देशन गर्ने अधिकार निर्वाचन आयोगलाई नभएको बताइन् । उनले निर्वाचन आयोगले असोज १ गते राति १२ बजेपछि संसदको अवधि सकिने भन्ने पत्र पठाएकोप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्दा समानता र राष्ट्रियता दुवै विषयलाई गम्भिर रुपमा लिनुपर्ने बताइन् । नागरिकता विधेयकमा राष्ट्रिय सहमति नबनेको अवस्थामा प्रस्तुत विधेयक राष्ट्रपतिले तत्काल पास गर्नुपर्ने उनले बताइन् ।



त्यस्तै सांसद राजन केसीले संसदलाई निर्वाचन आयोगले चिनाउने वा संसदले चिनाउने स्पष्ट हुनुपर्ने बताए । उनले सांसद निर्वाचित भएर शपथ नखाएसम्म संसदको कार्यकाल सुरु नहुने व्यवस्था रहेको बताए ।  

  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १४:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया