‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपति भण्डारीको चाहना

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छिन् । ५८आँं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो चाहना व्यक्त गरेकी हुन् । 

बालबालिकाहरुको साहित्य र कला प्रस्फुटन गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयास अगाडि बढाएको बताइन् । बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न उनले आग्रह गरिन् । 
राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिइरहेका र काम गरिरहेका संस्थाहरु दर्जनौँ रहेको उल्लेख गर्दै उनले आभार समेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास समेत व्यक्त गरिन्। 

त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझी सोहीअनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन् । त्यस क्रममा बालबालिकाहरुले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएकी छिन् । उनले ठाउँ अलि सानो भएकाले बालबालिकाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाइ भएको आफूलाई अनुभूति भएको पनि बताइन् । 

यस वर्ष सरकारले सो दिवसको मूल नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरेको छ ।  





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १९:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया