डा. केसीबारे नेम्वाङ र भट्टराईको प्रधानमन्त्रीलाई बिफ्रिङ, विधेयक पारित भएपछि वार्ता समिति गठन गरिने

काठमाडौं– अनसनरत डा. गोविन्द केसीबारे नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ र योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका छन् । गत सोमबार यी दुई नेताले गरेको बिफ्रिङको आधारमा प्रधानमन्त्री डा. केसीलाई अझै पेलेर जाने निष्कर्षमा पुगेका छन् । 

‘प्रधानमन्त्री डाभोस जानु भएको थियो, सामन्य संसदीय प्रक्रियाबारे हामीले बिफ्र गरेका हौँ,’ सुवास नेम्वाङले फरक धारसँगको कुराकानीमा भने, ‘त्यसमा धेरै विषय थिए । नेपाली कांग्रेसका नेताको नामका अस्पतालबारे पनि कुरा भएको थियो । त्यसलाई हामीले सम्बोधन गर्नु पर्छ भन्ने कुरा गरेका थियौँ, उहाँहरुको माग सम्बोधन पनि भइसकेको छ ।’

‘पछिल्ला घटनाबारे हामीले जानकारी गराएका हौँ, निष्कर्षमा पुग्ने गरि छलफल भएन,’ अर्का नेता योगेश भट्टराईले फरक धारसँग भने, ‘प्रधानमन्त्रीज्यू संसद्को प्रक्रियालाई अवरोध गर्ने पक्षमा हुनुहुन्न ।’

मन्त्रिपरिषद् बैठकलाई नै केही पर धकेल्ने गरि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा झन्डै एक घन्टा लामो चलेको यी तीन नेताको बैठकमा डा. केसीको प्रसङ्गमा ‘खासै कुरा’ नभएको नेम्वाङले दाबी गरे । तर, वार्ता नै गर्नुपर्छ भन्ने योजना चाहिँ नबनेको उनले स्वीकारे । 

‘छलफल हुँदा त्यो विषयमा पनि कुरा निस्कियो,’ उनले भने, ‘हाम्रो निष्कर्ष डा. केसीसँग अहिले तत्काल वार्ता गर्नुपर्दैन भन्ने आशयको थियो ।’ उनले डा. केसीका मागमा ९५ प्रतिशत सम्बोधन भइसकेको र यसलाई डा. केसीले पनि स्वीकार गर्नु पर्ने विषयमा छलफल भएको बताए ।

‘हामीले इतिहासमा नै पहिलो पटक डा. केसीलाई संसदीय समितिमा बोलायौँ, यो स्टेकहोल्डरलाई समितिमा नै बोलाएको पहिलो पटक हो,’ नेम्वाङले भने, ‘तर, उहाँ आउनु भएन । हामीले संसद्बाट पारित गरेको विधेयकलाई उहाँले आफ्नो जित भएको मान्नुपर्छ र उहाँका राजनीतिक माग तत्कालै छाड्नु पर्छ ।’



नेम्वाङले डा. केसीसँग अहिले वार्ता गर्नु पर्ने कुनै आवश्यकता नरहेको र तत्काल वार्ता गर्ने कुरामा प्रधानमन्त्री ओली पनि सहमत नभएको बताए । ‘अहिले उहाँसँग वार्ता गर्नु पर्ने कुनै मुद्दा नै छैन,’ उनले भने ।

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा. केसीसँग वार्ता गर्न सरकारी वार्ता समिति गठन गर्ने तयारी सुरु गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रिय सभाबाट १७ गते विधेयक पारित गर्ने र डा. केसीलाई अलमल्याउने उद्देश्यले सरकारी वार्ता टोली गठन गर्न प्रधानमन्त्री ओलीले नेकपाका अन्य नेतासँग छलफल गरेका छन् । 



‘सरकारले उहाँलाई इलामबाट काठमाडौंसम्म ल्यायो,’ स्रोत भन्छ, ‘यही कुरालाई प्रधानमन्त्री र नेताहरु ग्लोरिफाइ गर्ने पक्षमा छन् । उनीहरुले यसलाई नै आधार बनाउने र आफू अनुकुल विधेयक पारित भएपछि डा. केसीसँग वार्ता गर्ने तयारी गरिरहेका छन् ।’

‘संसदीय सर्वोच्चता हुन्छ, त्यसको प्रक्रिया हुन्छ,’ नेम्वाङले भने, ‘त्यही प्रक्रिया अन्तर्गत जाँदा डा. केसीलाई मात्र होइन, कसैलाई पनि समस्या नपर्नु पर्ने हो ।’

प्रधानमन्त्री डा. केसीसँग तत्काल वार्ता गर्ने ‘मुड’मा नभएको बताउँछन्, नेकपा नेता योगेश भट्टराई । ‘मैले यसअघि गरेका वाचा पूरा गरेको छु,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, ‘अब संसद्ले पनि आफ्नो केही काम त गरिहाल्छ, गर्नुपर्छ ।’

भट्टराईले अहिले तत्काल डा. केसीसँग वार्ता गर्न सरकारले कुनै पहल नगर्नेमा विश्वस्त हुन सकिने बताए । ‘अब विधेयक पारित नभएसम्म यो विषयमा केही नहोला,’ उनले भने, ‘विधेयक पारित भइसकेपछि चाहिँ सरकारले आफ्नो तर्फबाट केही पहल गर्ला । त्यसको सम्भावना पनि म चाहिँ न्युन नै देख्छु ।’

अहिलेसम्म सरकारी तर्फबाट डा. केसीसँग सम्वाद सुरु गर्ने कुनै पहल भएको छैन । ‘हामीसम्म अहिलेसम्म केही पनि कुरा आएको छैन,’ केसीनिकट अभियन्ता डा. जीवन क्षेत्रीले भने, ‘हामी त राष्ट्रिय सभामा केही संशोधन होला कि भन्ने आशामा पनि छौँ ।’

  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १२:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया