संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छन् ।
यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिन्छ । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा थुप्रै कलाकारहरूको नाम समेटिएको छ ।
यस वर्ष चार जना कलाकारलाई सुकृतीमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकृतीमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकार द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् ।
राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरेकी छन् । अभिनेता तथा निर्देशक कृष्ण कुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्र दीप दिने घोषणा गरिएको छ ।
यस्तै प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईलाई दिने घोषणा गरिएको छ । कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने राष्ट्रपतिले घोषणा गरेकी छन् ।
नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्र बहादुर खत्री र कृष्णबहादुर बिकको नाम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।