निर्वाचन आयोगले बझाङमा दुई मतदान स्थल थप गरेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा मतदान स्थल थप भएका हुन् ।
छबिसपाथिभेरा गाउँपालिका - ५ मा रहेको शान्ति माविको मतदान केन्द्रलाई विभाजन गरेर चन्द्रोदय मावि खतेडामा नयाँ मतदान केन्द्र थप गरिएको छ । यस्तै, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ माविको मतदान केन्द्र विभाजन गरेर शिक्षोदय मावि बागथलामा मतदान स्थल थप गरिएको हो ।
बझाङमा दुई मतदान स्थल थपिएसँगै १३५ वटा मतदान स्थल पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमल गौतमले जानकारी दिए ।
त्यस्तै, जिल्लामा तीन वटा मतदान केन्द्र सारिएका छन् । साइपाल गाउँपालिकाको धुली आधारभूत विद्यालयको मतदान स्थललाई सारेर सामुदायिक भवन यराङ्कुरीमा लगिएको छ । थलारा गाउँपालिका - ६ स्थित त्रिभुवन माविमा रहेको मतदान स्थललाई परिवर्तन गरेर वडा नम्बर ६ को वडा कार्यालय पिखेतमा मतदान स्थल कायम गरिएको छ ।
त्यस्तै, थलारा गाउँपालिका ८ को शैलेश्वरी आधारभूत विद्यालयको मतदान स्थललाई सोही वडाको कार्यालयमा कायम गरिएको प्रमुख गौतमले बताए । बाढी पहिरोको कारण पूर्वाधार क्षति भएका, बहुसङ्ख्यक जनसङ्ख्याको बसोबास भएको तथा टाढा दुरी भएका कारण मतदान स्थल हेरफेर गरिएको प्रमुख गौतमले बताए ।
बझाङमा प्रतिनिधि सभाका लागि एउटा निर्वाचन क्षेत्र छ भने प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । १२ वटा स्थानीय तह रहेको बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।