संविधान दिवसलाई लोसपा नेपालले मनायो ‘कालो दिवस’को रूपमा

मधेस प्रदेशको राजधानी जनकपुरधाममा सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संविधान दिवसलाई कालो दिवसको रूपमा मनाएको छ । ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै लोसपाले यस दिनलाई कालो दिवसको रूपमा मनाएको हो । 

यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै लोसपाले कालो संविधानको संज्ञा दिएको छ । कालो ब्यानर र टाउकोमा कालै फेटा बाँधेर सडकमा लोसपाका नेता कार्यकर्ताहरूले संविधानको दिवसको विरोधमा र्‍यालीसमेत निकालेका छन् ।

र्‍याली शान्तिपूर्ण भए पनि सुरक्षा व्यवस्था भने कडा गरिएको थियो । लोसपा नेपालले विरोध र्‍यालीपछि कोणसभाको आयोजना गरेको थियो जसमा लोसपाका नेताहरूले संविधान संशोधन नभएसम्म संविधानको विरोधमा कालो दिवस मनाउने चेतावनी दिए ।

लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हामी तराई÷मधेसका जनता संविधानको विरोधमा कालो दिवस मनाइरहन्छौँ ।’

‘राज्यले थुप्रै आश्वासन दिए पनि त्यसलाई पुरा गरेन र त्यसको विरोध आफूहरू शान्तिपूर्ण तरिकाले गर्दा प्रहरीको गोली चलाएर मधेसी जनताको हत्या गरियो,’ उनले अगाडि भने, ‘संविधान जारी भएको दिन पनि आफूहरू शान्तिपूर्ण रूपले आन्दोलन गरिरहेको समय मधेसका ठाउँ ठाउँमा गोली चलाएर मधेसी जनताको हत्या गरियो ।’ 



जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कालो दिवसलाई निरन्तरता दिने साहले बताए । अहिले राष्ट्रमा एकल पहिचानको आधारमा राष्ट्रियतालाई परिभाषित गरिएकाले जबसम्म सम्पूर्ण जाति, समुदाय, धर्मको आधारमा राष्ट्रियता परिभाषित हुँदैन, तबसम्म आन्दोलन जारी रहने उनले बताए ।

उनले आफ्नो पार्टीको निर्णय अनुसार आफूहरू संविधान दिवस नमनाएर यसको विरोधमा रहेको बताए । जनकपुरधामको जनकचोकबाट निकालिएको विरोध जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा पुगेर कोणसभाको आयोजना गरिएको थियो । 



संविधान जारी भएको दिनलाई विगतदेखि ‘कालो दिवस’ का रूपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपालले भने यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग गरेका छन् । 

उनले संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय रहेको र संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्ने बताए । त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पनि जरुरी रहेको उनको भनाइ छ । 

उता, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आजको दिनलाई कालो दिवसको रूपमा मनाएका छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १६:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया