\
शिक्षाविद्हरुले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् ।
सोमबार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै शिक्षाविद्हरुले यस्तो बताएका हुन् ।
उनीहरुले विद्यार्थीहरुलाई दिने शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शिक्षाविद्हरुले उच्च ग्रेडिङ ल्याएका विद्यार्थीहरु समेत अहिले विदेश जाने लाइनमा बस्ने गरेको बताए ।
शिक्षाविद् विद्यानाथ कोइरालाले निजी विद्यालयहरुले क्याम्पस तल आएको र सरकारले विद्यालयमाथि भन्ने दुईवटा बुझाइ भएका कारण विद्यार्थी समस्यामा परेको दाबी गरे । विद्यार्थीहरुलाई सरकारले एसइई दिएपश्चात् के विषय लिएर बढ्ने भन्ने स्पष्ट मार्गनिर्देशन गर्न नसकेको उनले बताए ।
कोइरालाले विश्वविद्यालय लचिलो नभए विद्यालयहरु माथि गएको अर्थ नहुने बताए । क्याम्पस तल आएको र विद्यालय माथि गएको भन्ने विषय स्पष्ट निजी विद्यालयहरुको छुट्याउन उनले सुझाब दिए ।
विद्यालयका शिक्षकहरुको कमजोरीको कारण विद्यार्थीहरुको नतिजा राम्रो नआएको बताउँदै उनले अब विद्यार्थीहरुको नतिजा राम्रो बनाउनको लागि शिक्षकहरुलाई पनि अब्बल बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै, शिक्षाविद् मनप्रसाद वाग्लेले सरकारले शिक्षाविद्हरुले दिएको सुझाब तथा कुरा सुन्न छाडेको गुनासो गरे । मन्त्रालयमा मन्त्रीहरुको गणेश बनेर घुम्नेहरुको मात्रै कुरा सुनेर कार्यान्वय हुने गरेको उनको आरोप छ ।
वाग्लेले २०७३ साउन १ गतेको ग्रेडिङ प्रणालीको शिक्षा मन्त्रालयको निर्णयलाई मन्त्रालयले नै कुल्चिएर एसइई परीक्षा ध्वस्त बनाएको आरोप लगाए । मुलुकभरका विद्यार्थीहरुलाई विद्यालय, क्याम्पस, तथा युनिभर्सिटीहरुमा सिकाउनेभन्दा पनि पढाउने काम मात्रै हुँदा गुणस्तर कम हुँदै गएको बताए ।
विद्यार्थीहरुले राम्रो ग्रेड ल्याएर पास भए पनि उनीहरुले माथिल्लो कक्षामा पुगेपछि काम नलाग्ने उनले बताए । वाग्लेले विद्यालय तथा क्याम्पसहरुमा पाठ्यक्रमभन्दा पनि टेक्स्ट बुकको आधारमा पढाइ भएको बताए । टेक्स्ट बुक सबै नभए पनि नेपालमा टेक्स्ट बुक नै अल इन अल हुँदै गएको उनले बताए ।
त्यस्तै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले शिक्षालाई देशको उत्पादन र अन्य चारित्रिक कुराहरुमा जोड्न नसके देशको समग्र शिक्षा प्रणाली फेलियर हुने बताए । विद्यालय तह, क्याम्पस तहको नजितालाई कुनै एउटा निकायले अनुसन्धान गर्नुपर्ने उनले बताए । भण्डारीले राष्ट्रको क्षमता मापन गर्ने राष्ट्रिय परीक्षा एसइईको नतिजाले शिक्षा क्षेत्रमा डर लाग्दो अवस्था देखिएको बताए ।
यो वर्षको एसइईको नतिजाले सरकारको शिक्षामा लगानी नपुगेको देखिएको बताउँदै उनले शिक्षामा लगानी नपुगेको वा लगानीको प्रतिफल लिन नसकेको र विद्यार्थी पढ्न नगएको स्पष्ट हुनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।