पोखरामा दुई दिनमा दुईवटा एटिएम मेसिन तोडफोड, ३ जना पक्राउ

पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएका छन् । दिनहुँजसो एटिएम मेसिन फोडिएका छन् । सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएरर नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो ।

उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।

यस्तै, मंगलबार राति पोखरा ६ लेकसाइडमा रहेको एनएमवी बैंकको एटिएम फुटाउन लागेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । 

खुकुरीले मेसिन फुटाएर पैसा चोरी गर्न लागेको अवस्थामा धादिङको त्रिपुरा सुन्दरी १ घर भइ पोखरा ८ बस्दै आएका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् । उनलाई पनि कास्की अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

कास्कीमा हरेक महिना एटिएम फुटाउने घटना बढिरहेको छ । अहिले चोरको निसानामा बैंकका एटिएम परेका छन् ।





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार २०:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया