कुखुरा चोरीको लतले वृद्धाको हत्या

६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको हो । 

उनले हत्या गरेको स्विकारेसँगै चोरी र लुटपाटको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ । सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । 

घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपात प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरे । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ताअघिबाटै चोरीको योजना बनाएका थिए । सोही अनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरले पक्राउ परेको दुवैउपर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार २०:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया