कर्णालीको प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्ने तयारी
वीरेन्द्रनगर स्थित प्रदेश अस्पतालको भवन । (तस्विर सौजन्यः प्रदेश अस्पताल)

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले हालको अवस्थामा दुई सय ९७ शय्याबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । कर्णाली प्रदेश सरकारको मुख्य र संघीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको यो अस्पताल तत्कालीन मध्यपश्चिम क्षेत्रीय अस्पतालबाट २०७५ कार्तिक १३ गते प्रदेश अस्पतालका रुपमा रुपान्तरण भएको थियो ।

अस्पतालले एक सय ५० शय्याका लागि सरकारबाट अनुमति पाएको छ । तर, अस्पताल विकास समितिमार्फत थप एक सय ४७ गरी कुल दुई सय ९७ शय्यामार्फत अस्पतालले सेवा प्रवाह गरिरहेको स्थिति छ ।

वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुले प्रक्रियाको थालनी गरेका छन् । यसै प्रक्रियाअनुरुप प्रदेश अस्पतालले वीरेन्द्रनगरमा छलफल कार्यक्रमको समेत आयोजना गरेको थियो । छलफल कार्यक्रममा प्रदेश अस्पताललाई रुपान्तरण गरी ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माणार्थ आवश्यक ऐनको मस्यौदामाथि छलफल गरिएको थियो ।

मस्यौदामाथि छलफल कार्यक्रममा नेपाल मेडिकल काउन्सिल अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर अर्जुन कार्की, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बोधनाथ मरहठ्ठा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेशनाथ अधिकारीलगायत विज्ञले सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ऐन मस्यौदामा आफ्नो धारणा राखेका थिए । प्रदेश अस्पताललाई स्वतन्त्र शैक्षिक प्रतिष्ठानका रुपका विकास गर्नुपर्ने विज्ञहरुको भनाइ थियो । 

कर्णाली प्रदेश सरकारले २०७९/०८० को बजेटमा समेत समावेश गर्दे ‘प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने’ लक्ष्य लिएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरण सहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शय्याको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य छ । छलफल कार्यक्रममा मध्यप​श्चिम विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकाल, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।

अस्पतालमा हाल अवस्थित जनशक्ति क्षमता, भौतिक पूर्वाधार, सेवाग्राहीको चाप, सेवाप्रवाहको अवस्था तथा भावी योजनाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सम्भावना बढाएको अस्पताल निर्देशक डा. डम्वर खड्काको भनाइ छ ।



उनले भने, ‘भौतिक पूर्वाधार रहेको तथा थप पूर्वाधार विस्तारका लागि प्रयाप्त जग्गा क्षेत्रफल अस्पतालसँग छ । कर्णाली प्रदेशलगायत छिमेकी प्रदेशबाट समेत अस्पतालमा सेवा लिन आउने बिरामीको चाप छ । दक्ष जनशक्ति उपलब्ध छन् । कर्णाली प्रदेशलाई स्वास्थ्य​ तथा शैक्षिक क्षेत्रलगायतमा समृद्व बनाउन अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न आवश्यक छ ।’

अस्पतालमा तीन सय २५ जनाको दरवन्दी छ । जसमध्ये ९१ दरबन्दी पूरा भएका छन् । अस्पताल विकास समिति मार्फत ६२ र अन्य स्रोतमार्फत दुई सय ८१ जनशक्ति अस्पतालसँग छन् । चार सय ३९ जनशक्ति अस्पतालसँग उपलब्ध रहेको अस्पताल निर्देशक डा. खड्का बताउँछन् ।



अस्पतालको क्षेत्राधिकारमा २० बिघा जमिन पर्छ । यो जमिन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लाग पर्याप्त रहेको डा. खड्काले जानकारी दिए । अस्पतालसँग ६ वटा भवनहरु अस्पताल मापदण्डका छन् ।

एक वर्षभित्रै अस्पतालमा मृगौला प्रत्यारोपण सेवा समेत सुरु गर्ने अस्पतालको तयारी छ । यसका साथै ‘क्याथल्याब’को स्थापना, विद्युत तथा वैकल्पिक ऊर्जाको पर्याप्त व्यवस्था, थप एमआरआई मेसिनको जडान, डायलासिस सेवामा विस्तार र बर्थिङ सेन्टर सञ्चालन गर्ने अस्पतालको तयारी छ । डा. खड्काले भने, ‘हालको अवस्थाले यस अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सम्भावना देखिन्छ । यसका साथै आगामी तीन वर्षभित्र हामी पाँच सय शय्याबाट अस्पताल सेवाप्रवाह गर्ने तयारीमा छौँ ।’

अस्पतालमा सेवाग्राहीको चाप पनि बढ्दो अवस्थामा देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ५२ जना सेवाग्राहीले दैनिक सेवा लिएका थिए । यो संख्या हालको अवस्थामा बढेर २०७८/०७९ मा दैनिक पाँच सय २५ जना सेवाग्राहीले स्वास्थ्य​ सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार २१:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया