संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनहरूले बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा विरोध प्रदर्शनमा सहभागी छन् ।
विरोध कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘महारानी’ बन्ने सपना देखेको बताए । उनले बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन् । उनले राष्ट्रपतिलाई शीलत निवासमा बस्ने अधिकार नरहेको भन्दै शीतल निवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन् ।
त्यस्तै, नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाए । उनले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्नु नमिल्ने बताए ।
उनले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाए । संयुक्त विद्यार्थी संगठनले विरोधको कार्यक्रममा भोलि बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने बताएको छ ।
तस्बिरमा हेर्नुस्, राष्ट्रपतिको कदमविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।