वडा व्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा

मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिवारबाट आयोजना हुन लागेको मध्यपुर थिमि वडा व्यापी लिग फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

मध्यपुर यूथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिस्पर्धा गर्दै छन् । आयोजकले सहभागी टोलीलाई राउण्ड रोविन लिग अनुसार खेलाउने तयारी गरेको छ । कुल ३६ खेल हुने प्रतियोगितामा हरेक वडाका टोलीले ८ खेल खेल्ने प्रतियोगिताका लिग निर्देशक र म्याच कमिस्नर एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए ।

करिब महिनासम्म आयोजना हुन लागेको लिगमा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्ने प्रावधान आयोजकले तोकेको छ । साथै सम्बन्धित वडाका खेलाडीले सोही वडाको प्रतिनिधित्व गर्नुपर्नेछ । शनिवारबाट आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल वडा नं १ र ४ बीच दिउँसो तीन बजे प्रतिस्पर्धा हुनेछ । प्रत्येक दिन २ खेल र आवश्यकता अनुसार ३ खेल समेत हुनेछ ।

लिगमा प्राप्त अंकको आधारमा प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोली घोषणा गरिनेछ । प्रतियोगिताको विजेताले आकर्षक ट्रफिका साथै नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । 

यस्तै प्रतियोगिताको अनुशासित टोलीलाई नगद २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गर्नेछ । 

प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेको छ । नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । सहभागी प्रत्येक टोलीलाई तयारी स्वरूप जर्सी र बल उपलब्ध गराएको छ भने खेलाडीहरूको दुर्घटना बीमा समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न समिति उपसमितिहरु गठन गरिएको छ । जसमा एशोसिएशनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति गठन गरिएको छ ।



त्यस्तै लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसिएशनका अध्यक्ष उपेन्द्रमान सिंह रहेका छन् भने मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्ज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतीको संयोजकत्वमा प्रचारप्रसार समिति, प्रतियोगिता स्थलको जिम्मा राजेश श्रेष्ठलाई तोकिएको छ । 



  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १४:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया