जियरालाई कर्णाली साहित्य समाज कृति पुरस्कार

कर्णाली साहित्य समाज कृति पुरस्कार लेखक तथा उपन्यासकार नयनराज पाण्डेको कृति जियरालाई प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै कर्णाली साहित्य समाजले २०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट जियरालाई कृति पुरस्कार प्रदान गरेको हो । उक्त पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।

आख्यानको नवीन विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्धमान पारम्परिक कुप्रथा, रूढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आम नागरिकहरुका दुःख, पीडा र भोगाइहरुलाई उद्घाटित गर्न सफल कथाहरु ‘जियरा’ मा समेटिएका छन् ।

यसैगरी कर्णाली साहित्य समाज साधना सम्मान प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गरिएको छ । ताम्रपत्रसहितको उक्त सम्मान ‘तीन दशकदेखि विशेषगरी कर्णाली प्रदेशको इतिहासको खोज, अन्वेषण र अनुसन्धानमा साधनारत रही कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८) जस्ता ऐतिहासिक महत्वका बहुमूल्य कृतिहरुको सिर्जनाद्वारा कर्णाली प्रदेशको इतिहासलाई अभिलेखन गरी नेपालको इतिहासलाई समृद्ध बनाएकोमा इतिहासकार प्राध्यापक डा. राजाराम सुवेदीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले बताए ।
 
यसका साथै संस्थाले स्थापना गरेको २५ हजार रुपैयाँ राशीको कर्णाली साहित्य समाज साधना सम्मान पुरस्कार नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिएको छ । कर्णाली प्रदेश लोकनृत्यहरुलाई देशभर चिनाउन सफल उनले बन्धकी, बाटुली, गोर्खा पल्टन जस्ता सुपरहिट चलचित्रमा समावेश भएका गीतमा नृत्य निर्देशन गरेका छन् । 

२०३९ सालदेखि २०७६ सालसम्म आइपुग्दा उनले २५ पटक राष्ट्रिय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा संस्थाका संस्थापक संरक्षक एवं कथाकार महेशविक्रम शाहले राजनीति तोड्ने काम गर्छ भने साहित्यले जोड्ने काम गर्ने गरेको बताए ।

यस भन्दाअघि महेश थापाद्वारा लिखित मरीचिका कथा संग्रह र ललित विष्टद्वारा लिखित मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार (रु ५० हजार राशि), कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार (रु २५ हजार राशि), चर्चित साहित्यकार बुद्धिसागर र वरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई साथै कर्णाली साहित्य समाज साधना सम्मान (ताम्रपत्रसहित) कवि श्यामल र कर्णालीको लोकसंस्कृति लगायतका दर्जनौँ कृतिका लेखक शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिसकेको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार १८:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया