जुम्लाको स्याउबारी पुगेर अर्थमन्त्री शर्मा भन्छन् -  कर्णालीको विकासमा कृषिको भूमिका महत्त्वपूर्ण छ

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रममा उनले अझ कर्णाली जस्तो क्षेत्र को विकासमा कृषिको भूमिका निकै महत्त्वपूर्ण हुने बताए । 

'कृषि उत्पादन वृद्धि विना मुलुकको आर्थिक समृद्धि सम्भव छैन,' उनले भने, 'किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।' अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामर्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरुरी रहेको बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुराउन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुराउन सरकार लागिरहेको पनि उनले बताए । 

जुम्लाको गुठीचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिवार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, 'जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरुरी छ ।'

कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावना युक्त प्रदेश भए पनि ठोस नीति र पर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए  । जुम्लाका उत्पादनलाई सहज रूपमा बजारमा पुराउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताए ।

कर्णालीको कृषिमा पर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी  छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुराउने सहज वातावरण बनाउन सरकार लागि परेको बताए । 



यस्तै, सांसद गजेन्द्रबहादुर महतले गुठीचौर एग्रो फर्म जुम्लाकै नमुना र आर्थिक समृद्धिको आधार रहेको बताए । यसले धेरैलाई रोजगारी दिनुको साथै कृषिमा नयाँ आयाम ल्याएको उनले बताए ।  

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताए  । २०७५ सालदेखि सुरु भएको एग्रो फर्ममा १३ करोड लगानी गरेर ३३ हजार स्याउको बिरुवा रोपेको सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनले ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।  



  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १३:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया