कतार विश्वकप खेल्ने जर्मन खेलाडीका लागि विभिन्न बोनस प्याकेज घोषणा

कतारमा हुने फिफा विश्वकप खेल्ने जर्मन खेलाडीका लागि विभिन्न बोनस प्याकेज घोषणा भएको छ । जर्मन फुटबल संघ र खेलाडीबीच आइतबार प्रतियोगिता बोनसमा सहमति भएको हो । 

सहमतिअनुसार विश्वकपको उपाधि जितेमा टोलीका खेलाडीले जनही ४ लाख युरो बोनस पाउने छन् । यसअघि, सन् २०१८ को विश्वकपमा ३ लाख ५० हजार युरो बोनस पाउने घोषणा गरिए पनि रुसमा सम्पन्न विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । 

ब्राजिलमा सम्पन्न २०१४ को विश्वकप उपाधि जित्दा जर्मन खेलाडीले जनही ३ लाख युरो बोनस प्राप्त गरेका थिए ।  कतार विश्वकपको समूह चरण पार गरे टोलीका खेलाडीले जनही ५० हजार तथा क्वाटरफाइनलमा स्थान बनाए जनही १ लाख युरो पाउनेछन् । 

जर्मनीले कतार विश्वकपको सेमिफाइनलमा स्थान बनाए प्रत्येक खेलाडीले १ लाख ५० हजार युरो तथा तेस्रो स्थान हासिल गरेमा २ लाख युरो नगद बोनस पाउने रोयटर्सले जनाएको छ ।  

त्यस्तै, फाइनलमा पराजित भए प्रत्येक खेलाडीले २ लाख ५० हजार युरो बोनस पाउनेछन् । ‘हामीले व्यापक छलफल गरेर सबैलाई मान्य हुने यस निर्णयमा पुगेका हौँ,’ जर्मन फुटबल संघका अध्यक्ष बर्नड नेउनडोर्फले भनेका छन् ।
 
बैठकमा खेलाडीको तर्फबाट म्यानुएल नोउर, थोमस मुलर, जोशुवा किमिच र इल्के गुन्डोगन सहभागी थिए । विश्वकपको समूह ‘ई’ मा जर्मनीसँगै स्पेन, कोष्टारिका र जापान छन् ।

जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । कतारमा हुने फिफा विश्वकप २० नोभेम्बर देखि १८ डिसेम्बरसम्म चल्नेछ ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १३:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया