प्रहरीले सिसिटिभी राष्ट्रिय ग्रिड निर्माण गर्ने, प्रत्येक प्रदेशमा सिसिटिभी

काठमाडौं– सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे । काठमाडौं विजुलीबजारमा २०७२ सालमा मोटरसाइकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए । आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ बराबरको विभिन्न सामान ट्राफिक प्रहरीले फुटेजकै आधारमा पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगायो ।

यी घटनाहरु सिसीटिभी प्रयोगका केही महत्वपूर्ण प्रतिनिधि उदाहरण हुन् । सिसिटिभीको माध्यमबाट अपराध अनुसन्धान प्रभावकारी देखिएपछि प्रहरीले सिसिटिभी राष्ट्रिय ग्रीड निर्माण गर्ने लक्ष्य रहेको बताएको छ । ७ वटै प्रदेश र मूख्य सहरलाई एक आपसमा जोड्नेगरि प्रहरीले राष्ट्रिय ग्रीड निर्माण गर्ने लक्ष्य लिएको हो । राष्ट्रिय ग्रिड निर्माणका लागि पहिले देशका मूख्य सहरलाई सिसिटिभीयुक्त बनाईने प्रहरीले बताएको छ ।

२०६१ सालामा ८ सेट सिसिटिभीको प्रयोग गरेर प्रहरी पहिलोपटक भिजुअल प्रविधीमा गएको थियो । अहिले प्रहरीले सहरी क्षेत्र, राजमार्गको सुरक्षालाई प्रभावकारी बनाउने उदेश्य सहित सिसिटिभी जडानलाई अभियानको रुपमा लागु गरेको बताए प्रवक्ता सुवेदीले । अहिले देशभरमा प्रहरीले २ हजार ३ सय ५४ वटा सिसिटिभी जडान गरेको छ । उपत्यकामा मात्रै करिब ५ सय वटा सिसिटिभी जडान गरिएकाछन् । 

फोरजी ताररहित प्रविधिमा आधारित भिजुअल प्रणालीलाई पनि ७ वटै प्रदेशमा पुर्याउने बताएको छ । यो प्रविधिमा एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेजमा कुराकानी गर्न सकिन्छ । भिजुअल प्रविधि जडान, मर्मत तथा नियन्त्रण गर्ने प्रहरी संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजीब सुब्वा यसलाई प्रहरीको सञ्जय दृष्टी भन्छन् । उनी भन्छन्, ‘यस्ता खालका प्रविधिले नेपाल प्रहरीलाई सञ्जय दृष्टि प्रदान गरेको छ । क्षितिज भन्दा टाढा पनि प्रहरीको कमाण्ड क्षमता हुनुपर्छ भन्ने कुरा यो प्रविधिले देखाउँछ ।’

सुब्वाका अनुसार अहिले प्रहरीसँग यस्तो प्रविधि ५० सेट छ । अब यो प्रविधिलाई ७ वटै प्रदेशमा प्रयोग गर्ने लक्ष्य प्रहरीको रहेको पनि उनले बताए । यस बाहेक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि ड्रोन पनि प्रयोग गर्दै आएको छ । अहिले प्रहरीसँग ३ ड्रोन र २ ड्रोनपाइलट छन् ।





  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १७:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया