नवौं राष्ट्रिय खेलकुद उद्घाटन राष्ट्रपतिले समापन प्रधानमन्त्रीले गर्ने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए । 

नवौं राष्ट्रिय खेलकुदको लागि सोमबारसम्म करिब ५५ सय खेलाडी दर्ता भएको उनले जानकारी दिए । नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताए । 

पोखरास्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रबार हुनेछ । यस्तै समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीबार गर्ने तालिका छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने काठमाडौंमा सम्पन्न भइसकेको छ । 

११ टोलीले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै नवौंको पहिलो स्वर्णपदक हात पारिसकेको छ । 

यस्तै, मंगलबार नै आयोजित अन्तरक्रिया कार्यक्रममा नवौंमा सहभागी हुन लागेका खेल संघलाई आयोजक राखेपले २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ । नगद दुई लाखबाहेक अन्य सुविधा भने नदिने जानकारी दिएको छ । ३५ दिनभित्र पेश्की फस्र्यौट गर्न पनि ताकेता गरेको छ ।



२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन । हरेक दुई–दुई वर्षमा आयोजना हुने तालिका भएपनि कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद पछि धकेलिएको हो । ३६ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदै छन् ।

यसै संस्करणबाट राखेपले रनिङ ट्रफी पनि बनाएको छ । हाल ट्रफी भ्रमणमा रहेको छ । ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइँदै छ । 



ओलम्पियन तेक्वान्दो खेलाडी दीपक विष्टको संयोजकत्वमा रहेको कार्यदलले ट्रफी टुर गराउँदै छन् । उक्त कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्वकप्तान पारस खड्का, अल्ट्रा धावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही छन् ।

नवौंका प्रतिस्पर्धा गण्डकी प्रदेशको ११ वटै जिल्ला गरिने भनिए पनि सात जिल्लामा मात्र खेलाइने भएको छ । सार्वजनिक खेलतालिकाअनुसार पोखरामा मात्र २६ वटा खेलका प्रतिस्पर्धा हुने भएका छन् । गण्डकीका कुल ११ जिल्लामध्ये तनहुँ, लमजुङ, मुस्ताङ र मनाङमा नवौंका कुनै पनि खेल नहुने भएका छन् ।

  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १८:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया