अनेरास्ववियू क्रान्तिकारीका विद्रोही समूहका अध्यक्ष पवन कार्कीले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय कानुन विभागले आयोजना गरेको ‘नागरिकता विधेयक भ्रम र यथार्थ’ विषयक अन्तरक्रियामा कार्कीले राष्ट्रपतिको भूमिकाबारेमा टिप्पणी गरेका हुन् ।
केपी शर्माओली प्रधानमन्त्री भएको बेला पनि अध्यादेशमार्फत नागरिकता विधेयक ल्याएको स्मरण गराउँदै कार्कीले त्यही विधेयकलाई अहिले एमालेले राष्ट्र हितविपरीत भएको भन्न नहुने बताए । ‘एमालेहरुले विदेशीलाई नागरिकता दिन खोजेको भनेर प्रचार गरिरहेको छन् । उनीहरुलाई प्रश्न गर्न चाहन्छु, त्यसो भए हिजो एमालेले नागरिकता अध्यादेश ल्याएर राष्ट्रघात गरेको थियो ?’ कार्कीले प्रश्न गरे ।
नागरिकता विधेयकलाई एमालेले चुनावी फन्डा गरिरहेको कार्कीको तर्क छ । ‘चुनावी फण्डाको नाममा नागरिकलाई अनागरिक बनाउन पाइँदैन । चुनावहरु आउँछन्, जान्छन् । तर, कसैमाथि अन्याय हुनुहुँदैन’ उनले अगाडि थपे, ‘न्यायको लागि अनेरास्ववियूले साथ दिनेछ । नागरिकता विधेयक राष्ट्रहितमा छ । संविधान कार्यान्वयन गर्न नचाहनेहरुले अवरोध गरिराखेका छन् । हामी यसको विरुद्धमा आन्दोलन गर्छौं ।’
राष्ट्रपतिलाई नागरिकता विधेयक रोक्ने अधिकार नभएको कार्कीले बताए । ‘राष्ट्रपतिलाई त्यो अधिकार छैन । राष्ट्रपतिको कदम गैरसंवैधानिक छ । राष्ट्रपतिबाट संविधानभन्दा माथि गएर कानुनको उल्लंघन गर्ने काम भएको छ । राष्ट्रपतिले लिएको कदम संविधान विपरीत छ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।