काठमाडौं– भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकन गर्नेको भीड बढ्दो छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औं क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
मेलामा दूरदराजमा ड्रोन प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषि क्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रूपमै देखाइएको छ ।
‘सुबिसु क्यान इन्फोटेक–२०१९ इन एशोसिएसन विथ इसेवा’ नाम दिइएको उक्त मेलामा सूचना तथा सञ्चार क्षेत्रको नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।
रोबोट विशेष आकर्षण
क्यान मेलामा रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको आकर्षण बढेको छ । रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । विजेता प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको व्यवस्था पनि गरिएको क्यान महासंघले जनाएको छ ।
मेलामा बिहीबार पनि प्रविधिको माध्यमबाट विद्यार्थीलाई अध्ययन गराइएको थियो । मेलास्थल आएका काठमाडौँको पद्मकन्या माध्यमिक विद्याल र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कुलका शिक्षकले पढाएका थिए ।
कुल १ सय ७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायत स्टल छन् । मेला अवलोकनका लागि प्रवेश शुल्क सर्वसाधारणका लागि सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।