राष्ट्रपति सेनाको फूलपाती बढाइँ समारोहमा सहभागी हुने

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाले आज दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने फूलपाती बढाइँ समारोहमा सहभागी हुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति पनि हुन् ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिने छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिक रूपमा मात्र आयोजना गरिएको थियो । बडादसैँको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासरुपमा फूलपाति बढाइँ गर्ने पहिले देखिकै चलन हो ।

फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतलाई आमन्त्रण गरिको छ । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार १२:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया