दशैंमा डा. अरुणा उप्रेतीका सुझाव: यसरी मासु खाऔँ, यस्ता सावधानी अपनाऔँ

दसैँको रौनक घर–घरमा छाइसकेको छ । रातो टीका र जमरा पर्वको रूपमा चिनिने हिन्दू धर्मावलम्बीको महान् चाड दसैँमा खानपानका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । पेटभरि मासु खाएर दसैँ मनाउने धेरैको बानी छ । तर, एकैपटक धेरै मासु र अन्य खानेकुरा खाँदा तत्कालै बिरामी पर्ने मात्र होइन, दीर्घकालीन स्वास्थ्यमा त्यसले ठूलो असर गर्न सक्छ । 

चाडपर्वका वेला अरू साधारण वेलाभन्दा केही बढी परिकार खाने गर्दछौँ । चाडपवका वेला घर–घरमा पाहुना भनेर जाँदा केही न केही खाइरहेका हुन्छौँ । तर, अध्यधिक मात्रामा खानेकुरा खाँदा स्वास्थ्यलाई नराम्रो असर गर्छ । स्वाद र सन्तुष्टिका लागि खाएको खानेकुराले मानिसको शरीरलाई अस्वस्थ बनाउने गर्छ । 

कस्ता रोगीले मासु खानुहुँदैन ? 

हामी दसैँमा अध्यधिक मासु सेवन गर्ने गर्छाैं । मासु खानु त राम्रो हो । तर, धेरै मात्रामा खानु, चिल्लोयुक्त र मसलेदार मासु खानाले तत्काल असर नदेखिए पनि केही दिनपछि यसको समस्या देखा पर्दछ । अहिले नेपालमा मुटुका बिरामी, रक्तचाप, डाइबिटिज ( मधुमेह) युरिकएसिडलगायत रोगका बिरामी बढिरहेका छन् । यस्ता रोग भएका मानिसले रातो मासु खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ ।

सर्वप्रथम यसबाट जोगिनको लागि हामीले आफ्नो जिब्रोको स्वादलाई कम गर्न सक्नुपर्छ । नेपालीहरूमा पेट भरिसकेपछि पनि स्वादिलो चिज पाइयो भने थपी–थपी खाने बानी छ । चाडपर्वमा धेरै आफन्तकोमा गइने हुँदा उनीहरूले सम्मान गरेर धेरै खानेकुरा दिन्छन् । आफन्तको मन राखिदिने बहानामा वा आफ्नो मन थाम्न नसक्दा शरीरलाई आवश्यकभन्दा बढी खानेकुरा खाइन्छ । तर, यस्तो बानी स्वास्थ्यका लागि हानिकारक छ । त्यसैले जहाँ गए पनि थोरै मात्रामा खाने गर्नुपर्छ । 

धेरै परिकारमा नुन राखिएको हुन्छ । रक्तचाप बढी भएका मानिसका लागि त्यसले थप समस्या पार्छ । त्यसैगरी, युरिक एसिड भएका मानिसले भित्री अगंका मासु तथा रातो मासु खानाले उनीहरूको स्वास्थ्यमा ठूलो असर पर्छ । 



मासु पकाउँदा धेरै चिल्लो, मसला राखेरभन्दा पनि साधारण तरिकाले पकाएर खानुपर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै दिनको बासी मासुले आउँ, हैजाजस्ता समस्या निम्त्याउन सक्छ । 



दीर्घरोगीलाई मासु घातक 

दीर्घरोगीले मासु खानु भनेको विष सेवन गरेजस्तै हो । त्यसैले दीर्घरोगीले सकेसम्म शाकाहारी नै बन्नु राम्रो हुन्छ । अझ तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु त अत्यन्त हानिकारक छ । 

नेपालीहरूमा नसर्ने रोग धेरै मात्रामा छ । अहिले सर्ने रोगको प्रकोप पनि बढ्दै गएको छ । धेरैमा मुटुको बिरामी, रक्तचाप बढी वा घटी, मधुमेह, युरिक एसिड र मृगौलासम्बन्धी समस्या छ । यस्ता रोगी बढ्नुको प्रमुख कारण कारण अस्वथकर खानपान नै हो । 

 

 

मासुलाई कसरी ताजा राख्ने ? 

मासुलाई ताजा र स्वस्थ राख्नका लागि फ्रिजमा राख्नुपर्छ । अनि जति पकाउने हो, त्यसअनुसार झिेकेर पकाउने गर्नुपर्छ । मासु पकाएर धेरै दिन राख्नुहुँदैन । आवश्यकताअनुसार पकाउनु सबैभन्दा राम्रो उपाय हो । केही गरी धेरै भयो भने त्यसलाई फ्रिजमा राम्रोसँग राख्ने ।  केही गरी विद्युत् बन्द भएको अवस्थामा फ्रिज बन्द भयो भने त्यो मासु विषसमान हुन्छ । ब्याक्टेरियाले विषाक्त बनाउने भएकाले त्यस्तो मासु खाँदा ठूलो समस्या आउँछ । 

 

कस्तो मासु नखाने ? 

मासुको गुणस्तर कस्तो छ, नबुझी खाँदा शरीरले धेरै दुःख पाउँछ । बजारमा झुन्डएर राखिएको मासु हल्का गुलाबी रंगको छ भने त्यसमा सचेत हुनुपर्छ । मासु हरियो अथवा प्याजी रंगको छ भने मात्रै त्यो खान योग्य हुन्छ । मासुबाट अमिलो र नमीठो गन्ध आएको छ भने त्यस्तो मासु खानुहुँदैन, पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण धेरै हुन्छ । 

 

जंकफुड तथा धेरै अल्कोहलले पारेको असर 

चाडपर्वमा रमझम गर्दै जिब्रोलाई स्वाद लाग्ने खानेकुरा खाने गरिन्छ । त्यसले एकातिर स्वास्थ्यमा असर पर्न जान्छ भने अर्काेतिर उपचार गर्दा पैसाको समेत नाश हुने गर्छ । त्यसैले खाने वेलामा ध्यान दिएर पनि चाडपर्व मनाउन सकिन्छ । 

भुटेको, तेलमा तारेको मासु सकेसम खानुहुँदैन । हामी चाडपर्वमा मीठो खाने नाममा दैनिक खाने दाल, भात, रोटीलगायत मूल खानालाई छाडेर विभिन्न फास्टफुड खाने गर्छौं । यस्ता खानेकुरा खाँदा मुटुको समस्यालगायत स्वास्थ्यमा अन्य धेरै समस्या पर्ने गर्छ । 

मानिसहरूले रमाइलो गर्ने नाममा अधिक अल्कोहल प्रयोग गर्ने, बच्चाहरूलाई अधिक जुस खुवाउने गर्छन् । जुन विषसरी हुने गर्दछ । जसले पछि गएर उनीहरूमा मधुमेहको समस्या देखिन्छ । फ्रुट जुसमा पर्याप्त मात्रामा चिनी र केमिकल हुने गर्दछ । फ्रुट जुस लामो समयसम्म राख्नुपर्ने भएकाले तिनीहरूमा केमिकलको मात्रा अत्यधिक हुन्छ । जसले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर गर्छ । 

अहिले बुबाआमाले सानैदेखि बच्चालाई जंकफुड खुवाउने प्रचलन बढेको छ । विभिन्न प्रकार जंकफुडले मन्द विषको काम गरेका हुन्छन् । बच्चामा धेरै जंकफुड खाएपछि २५– ३० वर्षको उमेरपछि मृगौलामा समस्या, मधुमेहजस्ता रोग देखा पर्छन् । 

चाडपर्वमा खाइने बजारका गुलिया मिठाईहरूमा पटक–पटक प्रयोग गरिएको तेल र नराम्रो तेलको प्रयोग हुन्छ । कतिपय पसलमा खानेकुराको रंग नहाली कपडामा हाल्ने रंगको प्रयोग भएको घटना बाहिर आइरहेको छ । यसले प्रत्यक्ष रूपमा मानिसको स्वास्थ्यमा असर पारिरहेको छ । त्यसकारण पनि बजारमा बेच्न राखिएको मिठाई प्रयोग गर्नुभन्दा घरमै परिवार मिलेर बनाएर खानु राम्रो हुन्छ । 

मिठाई सकेसम्म कम मात्रामा खानुपर्छ । किनभने मिठाईमा प्रायः मैदा र चिनी प्रयोग गरिएको हुन्छ । चिनीको अधिक प्रयोग स्वास्थ्यका लागि महाशत्रु हो । 

 

कस्ता खानेकुरा नखाने ? 

बाहिर राखेका खानेकुरा कस्तो किसिमको तेलमा बनाएको थाहा हुँदैन । जसले शरीरमा विषालु तत्व प्रवेश गर्छ । बाहिरको खानेकुरा खाने भनेको मुटुरोग पैदा गर्नु पनि हो । त्यसैले केही गरी बाहिरको खानेकुरा खानै परे उसिनेको अन्डा, केराजस्ता खानेकुरा खानु राम्रो हुन्छ । जुन चिज तेलमा पकाइँदैन, त्यो वस्तु सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक छ । 

मासुमा धेरै प्रोटिन हुन्छ । थोरै मात्रामा मासु सेवन गर्दा शरीरलाई फाइदा हुन्छ । मुटुरोग, युरिक एसिड भएका मानिसलाई भने मासु घातक नै हुन्छ । मासुसँगै मादकपदार्थ सेवन पनि अहिले फेसनजस्तो बनेको छ । चाडपर्वका वेलामा मानिसले धेरै मदिरापान गर्ने गर्छन् ।  तर, यसको असर पछि देखा पर्छ । 

 

शाकाहारीले के खाएर दसैँं मनाउने ? 

हरियो सागपात, गेडागुडी, दाल, जुस, कोदो, फापर, फलफूल, भटमास, पनिर जस्ता खानेकुरा खानु शरीरका लागि फाइदाजनक छ । शाकाहारीले पनि चाडबाडका  नाममा तेलमा पकाएको, धेरै मसला हालेको खाना खाने गर्दा स्वास्थ्यमा असर गर्छ । हरियो सागपात खाए शरीरमा कब्जियत हुँदैन । 

चाडपर्वमा शाकाहारीले मिठाई खाने गर्दछन् । बाहिर पकाएर राखिएका गुलिया बजारिया मिठाईले स्वास्थ्यमा असर गर्ने गर्छ । खानपानको असरबाट बच्नका लागि जिब्रोकोे स्वादलाई नियन्त्रण गर्नु नै प्रमुख उपाय हो । 

( डा. अरुणा उप्रेती जनस्वास्थ्य विज्ञ हुन् )

  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार २१:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया