डेंगुबाट बच्दै सचेत भएर दसैं मनाउन आग्रह

सुशील कोइराला मेमोरियल फाउन्डेसनले डेंगु रोगको सङ्क्रमण बढिरहेकाले सचेतता पूर्वक महान् पर्व बडादसैं मनाउन आह्वान गरेको छ । नेपालीको महान् पर्व बडादसैं, दीपावली र छठ पर्वको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री कोइरालाका नाममा खुलेको फाउन्डेसनले चाडबाड मनाउँदा स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा चाडबाडको खुसियालीसँगै रोगको सङ्क्रमण बढ्न नदिन सचेत रहनुपर्ने तर्फ सबैको ध्यान कृष्ट गराएको हो । कोरोनाको जोखिमसमेत पूर्ण रूपमा अन्त्य नभएकाले लापरबाही गर्नु नहुने फाउन्डेसनको आग्रह छ ।

फाउन्डेसनले बडादसैं, तिहार र छठ लगत्तै हुन लागेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी भएपछिको दोस्रो संसदीय निर्वाचनमा पनि अहिलेदेखि सक्रिय हुन आम जनसमुदायमा अनुरोध गरेको छ । संविधानसभाबाट जारी भएको संविधान च्यात्न केही शक्ति सक्रिय भएको देखिएकाले त्यसको संरक्षणका लागि जुट्न पनि फाउन्डेसनले लोकतन्त्र प्रेमी जनसमुदायमा आग्रह गरेको हो । संविधानको रक्षाका लागि निर्वाचनमा धेरैको सक्रिय सहभागिता आवश्यक पर्नेमा फाउन्डेसनले जोड दिएको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइरालाका नामबाट खुलेको फाउन्डेसनले वर्तमान संविधानको रक्षाका लागि जनस्तरमा पुगेर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । फाउन्डेसनको संरक्षकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको छ । 





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १५:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया