राउटेले भत्ता पाएनन्, भन्छन् - यस पटकको दसैं खल्लो हुने भयो

तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दसैं कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दसैंको मुखमा भत्ता नपाउँदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।  

दसैंका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरूको भत्ता नआउँदा सोचेजस्तो दसैं नहुने राउटे मुखिया सूर्य नारायण  शाही बताउँछन् । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले भत्ता नआएपछि आफूहरू दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् ।  ‘पहिले समयमै भत्ता पाउँथ्यौँ, दसैं पनि  रमाइलो हुन्थ्यो,’शाहीले भने, ‘अहिले दसैंमा भत्ता नपाएपछि अहिलेको दसैंमा खुसी नभएर दुःखी छौँ हामी ।’

दैलेखको भगवती माई गाउँपालिका –१ बेस्तडा बाबियातडामा रहेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दसैं मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन्  ।  ‘‘पछिल्लो सरकार आएदेखि आफूहरूले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रातिमा पनि ढिलो गरी पायौँ अहिले दसैंमा पनि पाएनौँ अब कसरी दसैं मनाउने ?’ राउटे मुखिया शाहीले भने ।

समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरूलाई खाद्यान्न, नुन, तेललगायत दसैंका लागि आवश्यक पर्ने सामग्रीको अभाव ५ । सबैजसो समयमै भत्ता पाएर खुसीसाथ दसैं मनाउने राउटे समुदाय यो वर्ष अभावै अभावमा दसैं मनाउने मुखिया शाहीले बताए ।

दसैंको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो । तीन महिनादेखि भत्ता पाएका छैनन् । पाँच वर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् । शुक्रबार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतबार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दीपेन्द्र वलीले बताए ।  ‘वडाको खातामा रकम ढिलो गरी आयो,’उनले भने, ‘आजदेखि बैंक बन्द भएपछि भत्ता उपलब्ध गराउन नसकिएको हो ।’


यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दशैको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् ।



‘राउटे समुदायले हर्षोल्लासका साथ दसैं मनाउन पाउनुपर्छ,’उनले भने,  ‘उनीहरूलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भए पनि दसैंमा भत्ता उपलब्ध गराउनुपर्छ ।’
कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाइसराइ गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । वडा कार्यालयले फिरन्ते राउटेको बस्ती जहाँ पुग्छ, त्यही पुगेर भत्ता वितरण गर्दै आएको छ ।

पछिल्लो समय राउटे समुदायको बसाइसराइ छिटो छिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्याङ्कले राउटेको जनसङ्ख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा १ सय ८० जनसङ्ख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्याङ्क अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ । 



  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १५:२६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया