यू–१७ एसियन कप छनोट : आयोजक भियतनामविरुद्ध यस्तो छ नेपालको रणनीति

एएफसी यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामको सामना गर्दैछ । नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्ध खेल्दा रक्षापंक्तिमा ध्यान दिँदै काउन्टर अट्याक गर्ने बताएका छन् । ‘भियतनाम बलियो टिम छ । तर यसको मतलब हामी कमजोर छौँ भन्ने होइन । जसरी हुन्छ भियतनामलाई रोक्ने हाम्रो योजना हो । त्यसका लागि हामी रक्षापंक्तिलाई मजबुत बनाउने छौँ । अनि काउन्टर अट्याक गर्दै गोल निकाल्ने प्रयास गर्नेछौँ,’ श्रेष्ठले भने ।

मुख्य प्रशिक्षक श्रेष्ठले भियतनामको पासिङ गेमलाई अवरोध पुर्याउन नेपाली खेलाडीले पनि अनुशासित भएर रक्षात्मक खेल्नुपर्ने बताउँछन् । ‘हामी डिफेन्स गर्दा समूहमा, अट्याक गर्दा पनि समूहमै छौँ । व्यक्तिगत कौशलभन्दा सामूहिक प्रयासमा ध्यान दिने हाम्रो योजना हो । पहिलो खेलको दोस्रो हाफमा हाम्रो रक्षापंक्तिको संरचना केही बिग्रिएको थियो । आजको खेलमा टिमको रणनीतिक संरचना (ट्याक्टिकल सेप) नबिग्रियोस् भनेर चनाखो रहनेछौँ,’ श्रेष्ठले भनेका छन् ।

यसअघि पहिलो खेलमा नेपाल बलियो थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो । नेपाली टिमका कप्तान प्रशान्त लक्षम अत्यधिक गर्मीका बाबजुत दिउँसो खेल्नु परेकाले थाइल्याण्डसँग सोचे जस्तो खेल देखाउन नसकेको बताउँछन् । पहिलो खेलको अनुभवका कारण दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने आफूहरूको लक्ष्य रहेको उनको भनाइ छ ।  

‘मलाई लाग्छ थाइल्याण्डभन्दा बलियो टिम हो भियतनाम । भियतनामी खेलाडीहरूको पासिङ राम्रो छ। हामी सबैले आआफ्नो भूमिका शतप्रतिशत निभाए उनीहरूलाई रोक्न सकिन्छ। प्रशिक्षकको रणनीति पछ्याउँदै आफ्नो पोजिसन नछाडी खेलेमा सकारात्मक नतिजा निकाल्न सकिन्छ जस्तो लागेको छ,’ लक्षमले भने ।





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार ११:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया