लगातारको वर्षाले सुदूरपश्चिमका किसान चिन्तित, खेतमै कुहिँदै धान
फाइल तस्बिर

बझाङसहित सुदूरपश्चिम प्रदेशभर बुधबारदेखि मनसुनी वर्षा जारी छ । धान लगाएर बर्खे बाली भित्र्याउने समयमा भएको बेला वर्षा हुँदा किसान चिन्तित भएका छन् ।  

तरकारी र फलफूल खेतीलाई पनि अहिलेको पानीले राम्रो नगर्ने भन्दै व्यावसायिक खेती गर्दै आएका किसानले चिन्ता व्यक्त गरेका छन् । गत वर्ष कात्तिक पहिलो साता परेको झरीले नोक्सानी बेहोरेका किसान यो वर्ष पनि अन्नबाली भित्र्याउन नपाइने हो कि भन्दै चिन्तित हुन थालेका छन् ।

गत वर्षको बेमौसमी पानीले बझाङमा करोडौंको क्षति भएको थियो । असोज अन्तिममा परेको सो वर्षाका कारण आएको बाढीपहिरोबाट ३१ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा समेत ठूलो क्षति भएको थियो ।  

गत वर्षको बेमौसमी वर्षाले सुदूरपश्चिम प्रदेशमा ७ अर्ब बराबरको धानमा क्षति पुगेको थियो । अघिल्लो वर्षहरूमा बझाङको देवल डुंग्री, गोलाईलगायत ठाउँमा धानबाली काटिसकिएको हुन्थ्यो । तर, यस वर्ष भने जिल्लाका अधिकांश जिउलाहरूमा धानबाली पाक्न सकेको छैन ।

त्यस्तै, ग्रामिण भेगका किसानले समेत मकै, कोदो, दलहन बाली भित्र्याउन पाएका छैनन् । फेरि पनि अघिल्लो वर्षको जस्तै बाढीले क्षति गर्ने होकि भन्ने चिन्ता लाग्न थालेको जयपृथ्वी नगरपालिका–२ किसान धनबहादुर खड्काले बताए ।

पानी अत्यधिक पर्दा पाक्नै लागेको धानबाली ढलेको छ । साथै, केही ठाउँमा किसानले काटेको धानसमेत खेतमा नै कुहिने अवस्थामा पुगेको छ ।



निरन्तरको वर्षाले तरकारी खेतीमा सबैभन्दा बढी क्षति भएको किसानको भनाइ छ । बेर्ना राख्ने र बोट सार्ने समयमा परेको पानीले बेर्ना र बोट नष्ट हुँदा किसानले क्षति बेहोर्नु परेको छ ।

मौसमविदले केही दिन अझै सुदूरपश्चिममा पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन् ।  



  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १९:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया