प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । उनको उम्मेदवारी खारेज गर्नु पर्ने माग गर्दै उजुरी परेको हो ।
डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै कर्ण मल्लले उजुरी दिएका हुन् । मल्लले पनि डडेलधुराबाट नै प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।
डडेल्धुरा कांग्रेसका पूर्वसभापतिसमेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् ।
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले थपे, ‘उमेदवारको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबाही अगाडि बढाउछौं ।’
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहनु ठूलै समस्या नरहेको बताए ।
‘मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनका लागि समय दिइएको थियो,’ उनले भने, ‘सो समयमा सम्बन्धित व्यक्तिले त्रुटि रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ ।’
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा शेरबहादुर देउवासहित ११ जना उमेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।