पटक-पटक पराजित राप्रपाका सिंहको पाँचौँपटकको प्रयास होला सफल ?

स्थानीय तह सदस्य निर्वाचन– २०७९ मा हेटौंडा उपमहानगरपालिकाको मेयरमा लोकप्रिय मत ल्याएर पनि पराजित बनेका राप्रपाका नेता दीपकबहादुर सिंहले प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता गराएका छन् । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका सिंहले मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । 

राप्रपाको केन्द्रीय समितिले केन्द्रीय सदस्य सिंहलाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्रका रुपमा निर्धारण गरिएको मकवानपुरमा मनोनयन दर्ता भएपछि चुनावी सरगर्मी अझै तातिरहेको छ । 

त्यसो त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सिंहको चर्चा छुट्टै छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार सिंह थोरै मतान्तरले मात्रै पराजित भएका थिए । राप्रपा विभाजन भएका बेला पनि उनको पक्षमा भारी मत आउनुले सिंह मकवानपुरमा लोकप्रिय रहेको देखाउँछ ।
 
२०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो । बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपा कमजोर बन्दै गयो । त्यसयता मकवानपुरमा राप्रपाले आफ्नो उपस्थिति खासै राम्रोसँग देखाउन सकेको थिएन । तर, पार्टी छोडेर कमल थापा राप्रपा नेपालको अध्यक्ष बनेपछि समग्र मकवानपुरमा राप्रपाको अवस्थामा तितरबितर नै भएको थियो । 

तर, स्थानीय तहको निर्वाचनमा सिंहले राप्रपाबाट हेटौंडाको मेयरका लागि आफ्नो नाम दर्ता गराएपछि एकप्रकारको माहोल तातियो । सिंह मनोनयन दर्ता गर्ने दोस्रो दिन वैशाख १२ गते हवाईजहाजबाट सिमरामा उर्लिएका उनी ४ बजे हेटौंडा आइपुगेर उम्मेदवारी दिन पुगेका थिए । राप्रपामा रहेकाहरुको लागि त उत्साह थियो नै । त्यसमाथि पनि अन्य पार्टी र पार्टीमै नलागेका सबैले सिंहलाई जिताउनका लागि कसैले देखिने गरी देखिने गरी साथ दिए भने कतिले भित्रि रुपमा पनि सहयोग गरे । 

मतगणनाको समयमा पटक–पटक अगाडि आए पनि अन्तिम परिणाम उनको पक्षमा आएन । सिंह थोरै मतान्तरले पराजित भए । पाँचदलीय गठबन्धनले २३ हजार ६७ मत पाउँदै विजयी हुँदा सो नगरमा राप्रपा नेपालको समर्थनमा एमालेले २० हजार ९ सय ८ मत ल्याएको थियो । सिंह एक्लैले २० हजार ३१ मत प्राप्त गरे । ठूला दलहरू गठबन्धन नै गरेर चुनावी अभियानमा होमिँदा पनि सानो दलबाट उम्मेदवार बनेका सिंह सो परिणामका कारण पनि थप उत्साहित भएर अहिले प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।



स्थानीय तहको निर्वाचनको थकाइ मार्न नपाउँदै मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र १ का लागि उम्मेदवारी दर्ता गराएका सिंह पाँचौँ पटकमा विजयी हुने आशामा निर्वाचनमा होमिएका छन् ।

चारैपटक पराजित 



स्थापनकालदेखि नै राप्रपामा सक्रिय रहेका उनी २०५४ सालमा  हेटौंडा उपमहानगरपालिकाको मेयरका प्रत्यासी एमलेका डोरमणि पौडेलसँग ६ सय मतान्तरले पराजित भएका थिए । 

त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका उनले तत्कालीन नेकपा एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले पराजित भएका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग २ हजार मतान्तरले पराजित हुन परेको थियो भने गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीकी मीना लामासँग २५ सय मतान्तरले पारजित भएका थिए । 

चारपटकको निर्वाचनमा पराजित भएका उनी पाँचौँ प्रयासस्वरुप मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को लागि राप्रपाका उम्मेदवार हुन् ।

  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १८:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया