गगनलाई लागेन सर्लाहीको विश्वास, नैनसिंहले गुमाए काठमाडौंमा पाएको टिकट

निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनलाई हप्तौँसम्म निकै सकस पर्‍यो । नेताहरूले आ-आफ्नो क्षेत्रमा अडान छोडेका थिएनन् । तर कसैको नाम भने दुई/दुई ठाउँबाट पनि सिफारिस भएको थियो । 

यसैबीच, नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं -४ सँगै सर्लाही - ४ बाट पनि सर्वसम्मत सिफारिस भएको थियो । महामन्त्री थापाले आफू कहाँबाट चुनाव लड्ने भन्ने निर्णय भने दिएका थिएनन् । सर्लाहीको उम्मेदवारबारे छलफल हुँदा उनको नाम कायमै राखिएको थियो । 

त्यही बेला पार्टी सभापति शेरबहादुर देउवाले भने केन्द्रीय सदस्य नैनसिंह महरलाई बोलाएर काठमाडौं- ४ को टिकट थमाए । महर भन्छन्, ‘टिकटका लागि बिहान मुख्य सचिव र पार्टी सभापतिले बोलाएर बालुवाटार गएको हुँ ।’  आइतबार बिहान उनले आफू काठमाडौं - ४ बाटै उठ्ने बताएपछि नैनसिंहको टिकट खोसियो । दुई पटक चुनाव जितेका गगन नै उम्मेदवार बने ।

कांग्रेस महामन्त्री थापाले अस्थिर भएर बोली फेर्दा केन्द्रीय सदस्य तथा नेविसङ्घका पूर्व  सभापति एवं केन्द्रीय सदस्य नैनसिंह महरले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाइसकेको टिकट खोसिएको छ । 

थापाले विगत नौ महिना देखि काठमाडौं -४ नम्बरबाट जित्न सकिन्छ कि सकिँदैन भनेर विभिन्न माध्यम र ग्रुप मार्फत रिपोर्ट मागी रहेका थिए । सबै रिपोर्टले हालको निर्वाचन क्षेत्रबाट कुनै पनि हालतमा जित्न नसकिने  रिपोर्ट थापालाई बुझाए पश्चात् उनको सचिवालयले सर्लाही पार्टी सभापति सुरेन्द्र सिंह लगायतसँग मिटिङ नै राखेर सर्लाही ४ मा निर्वाचन लड्ने निष्कर्ष निकाल्यो बताइन्छ । 

लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति, महामन्त्री लगायतलाई थापाले जानकारी गराएको बालुवाटार स्रोत भन्छ । सभापति लगायतका पदाधिकारीको सहमतिपछि  गगन थापाले सर्लाही ४ का लागि आफ्नो एकल नाम  सिफारिस गराएका थिए । 



संसदीय बोर्डका एक जना सदस्यका अनुसार थापाले आफू चुनाव लड्न सर्लाही जाने भनेर प्रस्ताव राखेपछि मौखिक रूपले अनुमोदन भैसकेको थियो र थापा शनिबार सर्लाही ४ बाट लड्ने पक्का गरिसकेको थियो । त्यसपछि काठमाडौं ४ को लागि संसदीय बोर्डले अनौपचारिक रूपमा केन्द्रीय सदस्य नैनसिंह महर लाई उम्मेदवार बनाउने निर्णय अनुसार २३ गते बिहान बिहान टिकट लिन बालुवाटार बाट बोलावट भएको केन्द्रीय कार्यालयका टिकट वितरणमा खटिएका एक जना सचिव बताउँछन् ।

काठमाडौँमा धक्का लाग्न सक्ने डरले शनिबार सर्लाही जाने निर्णय गरिसकेका  थापाले काठमाडौं छोडेर सर्लाही जान हेलिकप्टर तयार गरेको स्रोतले बतायो । स्रोतले भन्यो,  ‘उहाँ  महामन्त्री गगन थापा ले राति नै काठमाडौँ छोडेर सर्लाही जाने बताउनुभएको थियो । सम्भव भए राति नै जाने भनेर हेलिकप्टर पनि बुक गरिसकिएको थियो ।’



सर्लाही कांग्रेस स्रोतका अनुसार थापाले सर्लाही जाने सम्पूर्ण तयारी गरेर तयारी रहेको अवस्थामा थापा ‘मधेस विरोधी’ भएको र थापा लाई कुनै हालतमा सर्लाही छिर्न नदिने र हेलिकोप्टर समेत बस्न नदिने भनेर सर्लाहीमा जुलुस निकाल्न थालियो ।

उनलाई सर्लाही छिर्न नदिने भन्दै उनको विरोधमा हजारौँ मान्छेले हस्ताक्षर गरेको खुलेपछि झस्किएका थिए  । निवर्तमान सांसद अमरेशसिंहले समेत स्वतन्त्र उम्मेदवारी दिने चाल पाएपछि उनले  निर्णय फेरेको स्रोतको दाबी छ । राति संसदीय बोर्डमा पनि थापाले सर्लाही जाने वचन दिइसकेका थिए ।  तर, मधेसबाट आएका पछिल्ला खबरले सर्लाहीबाट चुनाव जित्ने विश्वास नलागेपछि थापाले नजाने निर्णय गरेको बताइन्छ । 

अन्ततः उनले सर्लाहीबाट पनि विरोध भएको देखेपछि काठमाडौंमै बस्ने निर्णय गरेका हुन् । दुई वटै सिट आफूतिर तान्न खोज्दा थापाको ‘हर्कत’ देखिएको छ पार्टीकै नेताहरु बताउँछन् ।  पार्टीले दिइसकेको टिकट पनि खोसेपछि केन्द्रीय सदस्य महरलाई अन्याय भएको केन्द्रीय सदस्य नगिना यादवको भनाई छ।

  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १३:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया