स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई रुपन्देही–१ कति सहज ?

नेकपा एमालेले टिकट नदिएपछि पार्टी परित्यागको घोषणा गरेर प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिए, घनश्याम भुसालले । रुपन्देही–१ मा उनले उम्मेदवारी दर्ता गरेपछि सत्तारुढ गठबन्धनले उनलाई सहयोग गर्ने भएको छ । त्यसैले नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा आफ्ना कुनै उम्मेदवार उठाएको छैन । गठबन्धनमा रुपन्देही–१ नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर भुसाललाई आफूहरुले सहयोग गर्ने ‘वचन’समेत दिइसकेका छन् ।

सत्तारुढ गठबन्धनको साथ पाएका भुसाललाई रुपन्देही १ मा निर्वाचन जित्न कति सहज होला ? उनको प्रतिस्पर्धी हुन्, उनको पहिलेको दल नेकपा एमालेका छविलाल विश्वकर्मा । विश्वकर्मालाई राप्रपाले पनि साथ दिने भएको छ । एमाले र राप्रपाले चुनावी तालमेल गरेकाले विश्वकर्मा यो क्षेत्रका बलिया उम्मेदवार भएका छन् । 

एमालेसँग राप्रपाको यो चुनावी तालमेलका कारण भुसाललाई गठबन्धनका दलको साथ हुँदा पनि निर्वाचन जित्न चाहिँ कठिन देखिएको छ ।

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा विभिन्न दलले पाएको मतसंख्यालाई हेरौँ । रुपन्देही १ मा वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले ३२ हजार १९६ मत पाएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका वडाध्यक्षले ४ हजार ३ सय २, नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले पाएको मत १४ सय ४७ हो । राष्ट्रिय जनमोर्चाका वडाध्यक्षहरुले १ सय ३१ मत मात्र पाएका थिए । 

त्यहाँका वडाहरुमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ३० हजार ३ सय ९४ मत पाएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वडाध्यक्षका उम्मेदवारले १४ हजार ५ सय ५६ मत ल्याएका थिए । जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवारहरुले ६ हजार ६ सय ९५ मत पाएका थिए ।



यो गणितलाई ख्याल गर्ने हो भने नेकपा एमालेको गठबन्धन रुपन्देहीमा सत्तारुढ गठबन्धनभन्दा निकै अगाडि देखिन्छ । त्यसमाथि भुसालले यसपटक आफ्नो पुरानो क्षेत्र छोडेर १ नम्बरमा आएका छन् । यसअघि २०७४ सालमा उनले रुपन्देहीको क्षेत्र नम्बर ३ मा ३२ हजार ८ सय मत ल्याएर राप्रपाका दीपक बोहोरालाई हराएका थिए । तर, उनीहरुबीचको मतान्तर ५ हजार ५ सय मात्र थियो ।

यसको अर्थ हो, रुपन्देहीमा राप्रपाको प्रभाव राम्रो रहेको छ । त्यही राप्रपासँग एमाले मिलेकाले भुसाललाई यसपटकको प्रतिनिधि सभा निर्वाचन कठिन देखिन्छ ।




  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार २०:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया