प्रभु साहले एमाले छाड्नुका ३ कारण

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रभु साहले एमालेले टिकट दिँदादिँदै पनि स्वतन्त्र उम्मेदवारी दिए । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई अब एमालेमा फर्किने ढोका बन्द भइसकेको छ । 

उनले एमालेमाथि षडयन्त्र गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत बताइसकेका छन् । 

‘केही समयअघि देखि नै साह संदिग्ध गतिविधिमा छन् भन्ने रिपोर्ट आएको थियो, तर मैले पत्याएको थिइनँ,’ ओलीले एक टिभीमा दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मसँग फोनमा कुरा हुँदा उम्मेदवारी दिँदैछु भनेका साहले षडयन्त्र गरे, उनले रौतहटका सबै उम्मेदवारको टिकट लगेका थिए, एमालेलाई रित्तै बनाउन खोजेका रहेछन् ।’

साहले रौतहटका सबैको टिकट आफूले लगेर पनि नदिएपछि त्यहाँका उम्मेदवारहरुले पार्टी कार्यालयबाट फ्याक्समा टिकट मगाएको ओलीले दाबी गरेका छन् ।

यसअघि सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टीबाट दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि साहले माओवादी केन्द्र छाडेर नेकपा एमाले रोजेका थिए ।

तर, अहिले उनले नेकपा एमालेलाई छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । आखिर उनले नेकपा एमाले किन छाडे त ? 



यसका पछाडि तीन कारण रहेको उनलाई बुझ्नेहरु बताउँछन् । पहिलो हो, रघुवीर महासेठको दबदबा । नेकपा एमालेमा मधेशमा रघुबीर महासेठको दबदबा भएका कारण आफू पछाडि परेको साहले आभास गर्दै आएका थिए । उनले यही कुरा आफूनिकटहरुलाई पनि बताउँदै आएका थिए । 

अर्को कारण हो, उनको कामलाई नेकपा एमालेका नेताहरुले स्वीकार नगरिदिनु । केही समयअघि उनले साइबर सेना गठन गर्दा नेकपा एमालेका नेता महेश बस्नेतले त्यसको समानान्तर अर्को संगठन बनाएका मात्र थिएनन्, साहको संगठनको कुनै अर्थ नभएको अभिव्यक्तिसमेत दिएका थिए । यो कुरामा उनले पार्टीको नेतृत्व पंक्तिबाट समेत साथ पाएका थिएनन् ।



साह पहिले माओवादी केन्द्रमा हुँदा बाबुराम भट्टराईनिकट मानिन्थे । पछिल्लो समय बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि साह नेकपा माओवादी केन्द्रमा नै रहेका थिए । अहिले भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि नजिक भएपछि माओवादी केन्द्रमा नै फर्किन साहले स्वतन्त्र उम्मेदवारी दिएको हुनसक्ने अनुमान पनि गरिएको छ । 

तर, साहले आफू ४ मंसिरको निर्वाचनसम्म कुनै पनि पार्टीमा आवद्ध नहुने बताइसकेका छन् ।

  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार २०:२८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया