चितवन–३ मा एकाएक बलियो बनेका कांग्रेसका बागी दिनेश

आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ यसअघि निकै चर्चामा थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण । 

तर, अन्तिम समयमा उनले चितवनबाट निर्वाचन लड्ने आफ्नो ‘मुड’लाई सिफ्ट गरे, उनी गोरखा–२ मा पुगे । त्यसपछि चितवन कांग्रेसले आफूहरुले उक्त क्षेत्र पाउनु पर्ने दाबी गरेको थियो । तर, गठबन्धनको सिट बाँडफाँटमा चितवन क्षेत्र नम्बर ३ माओवादी केन्द्रलाई नै पर्यो । माओवादी केन्द्रका डा. भोजराज अधिकारीले यो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दिए । 

अधिकारीलाई टिकट दिएको विरोधमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिनेश कोइरालाले असन्तुष्टि मात्र जनाएनन्, बागी उम्मेदवारीसमेत दिए । त्यस्तै, यसअघि वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहालविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि यहाँ उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको थियो । 

तर, न्यौपानेको उम्मेदवारी नेकपा एमालेले फिर्ता लियो बुधबार । एमालेले उम्मेदवारी फिर्ता मात्र लिएन, आफ्नो समर्थन नेपाली कांग्रेसका बागी उम्मेदवार कोइरालालाई रहने संकेत समेत गरेको छ । कोइरालाले आफूलाई समर्थन होस् भन्ने हेतुले मंगलबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट पनि गरेका थिए । 

एमालेले उम्मेदवारी फिर्ता लिएसँगै उनले प्रतिक्रियासमेत दिएका छन्– मलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आर्शीवाद प्राप्त भयो ।



यो क्षेत्रमा अहिलेसम्म सबैभन्दा बलियो उम्मेदवारका रुपमा देखिएका थिए, एमालेका न्यौपाने र विक्रम पाण्डे । अब न्यौपानेको उम्मेदवारी फिर्ता हुनु र एमालेले कोइरालालाई सहयोग गर्ने भएपछि पाण्डे, जगन्नाथ पौडेलभन्दा बलियो बनेका छन्, दिनेश कोइराला ।

यसअघिको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट प्रचण्डले ४८ हजार २ सय ७६ मत पाएका थिए । उनका प्रतिस्पर्धी रहेका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए ।



चितवनको यो क्षेत्रमा भरतपुर महानगरपालिकाका ६, ८, ९, १३ ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८  गरि १९ वडा वडा र माडी नगरपालिका पर्छ । भरतपुर महानगरपालिकामा मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल गठबन्धनबाट उम्मेदवार हुँदा उनले जित निकालेकी थिइन् । तर, माडी नगरपालिकामा एमाले र राप्रपाको तालमेल हुँदा एमालेले जित निकालेको थियो । त्यहाँ माओवादी केन्द्रभन्दा एमाले बलियो देखिएको छ ।

यी वडाहरुको हिसाब गर्दा स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ७ सय ५३ मत ल्याएका थिए । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ३ सय ५३ मत ल्याएका थिए । माओवादीले १० हजार र एकीकृत समाजवादीले ५ हजार मत ल्याएका थिए । 

स्थानीय तहको निर्वाचनको समयदेखि नै नेपाली कांग्रेसका नेताहरु माओवादी नेताहरुलाई भोट दिनु परेको भन्दै रुष्ट थिए । त्यसको प्रमाण हो, त्यति बेला जगन्नाथ पौडेलले ल्याएको १३ हजारभन्दा बढी मत । 

अब नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले उम्मेदवारी दिँदा नेपाली कांग्रेसका असन्तुष्ट मतदाताहरुको मत पनि उनलाई जाने देखिन्छ । त्यसमा नेकपा एमालेको मत थपिँदा उनलाई त्यहाँ जित निकाल्न थप सहज हुने अनुमान गर्न सकिन्छ ।

त्यसमाथि कोइराला लामो समयदेखि चितवनमा क्रियाशिल छन्, उनको राजनीतिक पपुल्यारिटी राम्रो छ । यसले गर्दा एमालेको मतसँगै नेपाली कांग्रेसका असन्तुष्टहरुको मत उनले आफ्नो पक्षमा पार्न सक्दा उनले सहजै जित निकाल्ने देखिएको हो ।


  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १५:२७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया