सुदूरपश्चिममा बर्सेनि बढ्दै विपद्जन्य क्षति
फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ । 

प्रदेशमा ६ महिनामा सबैभन्दा बढी मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन् । अछाममा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा सात जनाको मृत्यु भएको छ भने चार करोड ८४ लाख १० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रदेशमा सबैभन्दा पहिरोबाट मानवीय क्षति हुने गरेको छ । सात जिल्लाका विभिन्न घटनामा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोका कारण सात लाख ८४ हजार बराबरको क्षति भएको छ ।

प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा १ सय १३ विपद्जन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए । सो आर्थिक वर्षमा सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको थियो । डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो ।

प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुबानसँगै चट्याङ, आगलागी, वन्यजन्तु आक्रमणलगायतका घटनाबाट मानवीय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ । 

नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशी तराईमा डुबान तथा बाढी र पहाडमा पहिरोका घटनाहरू बढिरहेको बताउँछन् । वातावरणीय प्रभाव मूल्याङ्कनबिनै बनाइएका भौतिक संरचनाका कारण पनि विपद्जन्य क्षति बढ्दै गएको उनको भनाइ छ ।



उनले भने, ‘पहाडमा सडक निर्माणका नाममा मनलाग्दी सडक खन्ने, कमजोर भू-बनोटमा ठूला मेसिन लगाउने र अनियन्त्रित नदीजन्य पदार्थ उत्खननका कारण पनि बाढी तथा पहिरोका घटना बढिरहेका छन् ।’

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा वैशाखदेखि असोज २५ गतेसम्म विपद्जन्य घटनामा ५५ जनाको मृत्यु भएको छ । सोही अवधिमा १० जना बेपत्ता भएका छन् भने एक सय १० जना घाइते भएका छन् । विपद्का दुई सय ४६ वटा घटनाबाट पाँच करोड ६९ लाख १५ हजार सात सय बराबरको क्षति भएको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार ९:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया