तमलोपा अध्यक्ष लाल भन्छन्, ‘महन्थ ठाकुरलगायतका नेताहरुले मधेसको मुद्दासँग खेलबाड गरे’

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, मधेसको पहिचान, सम्मान तथा स्वाभिमानको रक्षाका लागि आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएका लालले संघियतालाई समाप्त पार्ने मनसायका साथ देशमा गठबन्धनको राजनीति सुरु गरिएको आरोपसमेत लगाएका छन् । 

लालले देशमा सिद्धान्तहीन राजनीति चलिरहेकाले सत्तारुढ गठबन्धन र एमाले–जसपा गठबन्धनले निर्वाचन प्रणालीको मर्ममाथि प्रहार गरेको आरोप लगाए । 

राजनीतिमा पुस्ता हस्तान्तरणको समय आइसकेको अवस्थामा केही राजनीतिक दलहरुले गठबन्धनको नाममा पुरानै अनुहारलाई दोर्होयाउने र आफ्नो पदलोलुप्ता पूरा गर्ने कुचेष्टा मात्र गरिरहेको आरोप लगाए । 

उनले गठबन्धनसँग कुनै राजनीतिक एजेण्डा नरहेकाले कुनैपनि गठबन्धनलाई मत नदिन आम मतदातासँग आग्रहसमेत गरेका छन् ।

महोत्तरी–३ मा लालसँगै सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र एमाले–जसपा गठबन्धनको तर्फबाट जसपा नेता हरिनारायण यादवले समेत उम्मेदवारी दिएका छन् ।
 
महोत्तरी–३ मा एकडारा गाउँपालिकाका ५ वटा वडा, मटिहानीका ९ वटै वडा, जलेश्वरको १२ वटै वडा, पिपरा गाउँपालिकाका ६ वडा र मनरा सिस्वा नगरपालिकाका ३ वडा गरी कूल ३५ वडा रहेका छन् ।



२०७४ को निर्वाचनमा सहजै जित निकाल्न सफल भएका लोसपा अध्यक्ष ठाकुरलाई यस पटक त्यहाँ जित्न मुस्किल देखिन्छ । ठाकुरका लागि यस पटक परिस्थिति फेरिएको छ ।

यसअघिको निर्वाचनमा ठाकुरले २६ हजार ८४५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६७६ मतमात्र प्राप्त गरेका थिए । तर यस ५ वर्षको अवधिमा महन्थले आफ्नो क्षेत्रमा जनताको अपेक्षा अनुसारको काम गर्न नसकेकोले उनको जित अनिश्चित बनेको त्यस क्षेत्रका मतदाता बताउँछन् । 



यसअघि स्थानीय तहको निर्वाचनमा पनि लोसपाले राम्रो प्रदर्शन गर्न सकेको छैन । महोत्तरी–३ का ३५ वडामध्ये लोसपाले ७ वडामा मात्र जित निकाल्न सकेको छ । 

त्यहाँ यस पटक विभिन्न राजनीतिक दलका १० र स्वतन्त्रतर्फ ११ गरी कुल २१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमध्ये महन्थका लागि तमलोपाका वृशेषचन्द्र लालले मुख्य चुनौती दिएको देखिएको छ । 

राजनीतिबाट सन्यास लिने समय आइसकेको बेलामा अध्यक्ष ठाकुरले फेरि यसपटक पनि उम्मेदवारी दिएर नयाँ पुस्तालाई राजनीतिबाट बञ्चित गरेको अध्यक्ष लालको आरोप छ । 

लाल भन्छन्, ‘ठाकुरजीसँगको मेरो मित्रता मुद्दाका लागि थियो । तर, उहाँहरुले मुद्दा नै विसर्जन गरेपछि अब मित्रता पनि रहेन । यसपटक उनलाई जनताले विश्वास गर्ने छैनन् ।’

उनले ठाकुरलगायतका नेताहरु मधेसको मुद्दासँग खेलबाड गर्न थालेपछि आफू आफ्नो बाटो लागेको बताएका छन् । 

उनले भने, ‘नेपाली कांग्रेसको लामो राजनीति गरेका ठाकुर २०४८ सालदेखि नै लगातार निर्वाचन लड्दै आएको नेता छन् । २०४८, २०५१ र २०५६ सालमा सर्लाहीबाट निर्वाचित भएका उनी २०६४ र २०७० को संविधान सभा निर्वाचनमा आफ्नै पूर्व सहयोगीबाटै पराजित भएका थिए । यसपटक पनि उनलाई मुस्किल नै छ ।’

  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १७:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया