आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने आज अन्तिम दिन रहेको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका र प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक सूचीमा रहेका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना बुझाउन आजसम्मको समय दिएको हो ।
आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ । सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाएको आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाउने आयोगले चेतावनी दिएको छ । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्चको विवरण नबुझाएका ४११ जनाको नाम आगामी निर्वाचनमा सहभागी गराउनका लागि राजनीतिक दलले समानुपातिकको बन्दसूचीमा पेस गरेका छन् । जसमा प्रदेशसभातर्फका २६९ र प्रतिनिधिसभातर्फका १४२ जना छन् ।
केही उम्मेदवारले खर्च विवरण बुझाएको भए पनि अधिकांशले विवरण बुझाउन बाँकी रहेको आयोगले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।