इसिमोडको प्रतिवेदन : सन् २१०० सम्म दुईतिहाइ हिमनदी पग्लेर सकिने

काठमाडौ‌ं– जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरह्यो भने सन् २१०० सम्म दुईतिहाइभन्दा बढी हिमनदी पग्लिएर सकिने तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक भएको छ । 

हिन्दुकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुनेछ । 

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १.५ डिग्री तापक्रममा सीमित गर्ने लक्ष्य राखे पनि अहिलेको अवस्था हेर्दा तापक्रम वृद्धिदर सोही अवस्थामा रहनेमा आशंका छ । 

विश्वको तेस्रो ध्रुवका रुपमा रहेको सगरमाथा, माउन्ट केटुजस्ता उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा जानेले समेत ती क्षेत्रमा उच्च दरमा हिउँ पग्लिरहेको पाएका भन्दै प्रतिवेदनमा एकतिहाइभन्दा बढी हिमनदी समस्यामा परेको उल्लेख छ । 

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बसोवास गर्दै आएका २५ करोड तथा नदी किनारमा बस्दै आएका १ अर्ब ६५ करोड नागरिक सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनले देखाएको छ । 

जलवायु परिवर्तनका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत खानेपानीको समस्या हुने र त्यसबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै प्रतिवेदनले हिमाली क्षेत्रमा बढेको वायु प्रदूषणका कारण अन्य समस्या पनि देखिने जनाएको छ । 



यस्तै, मनसुनमा पनि पानी नपर्दा सहरी खानेपानी प्रणालीमा मात्रै नभई खाद्य तथा ऊर्जा उत्पादनमा समेत समस्या उत्पन्न हुनेछ । इसिमोडले अन्तरसरकारी जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन, हिन्दुकुश हिमालय क्षेत्रमा भएका अध्ययन तथा खोज, ३५० अध्ययनकर्ताको प्रतिवेदन र २२ देशका १८५ संघसंगठनका खोजका आधारमा प्रतिवेदन तयार गरेको हो । 

हिन्दुकुश क्षेत्रले ३ हजार ५ सय किलोमिटर क्षेत्र ओगटेको छ । त्यसमा अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मार, नेपाल र पाकिस्तान पर्छन् । यस क्षेत्रमा उच्च हिमशृङ्खला, हिमनदी र १० भन्दा बढी ठूला नदी प्रणाली छन् । त्यसमा गंगा, इन्दुज, यल्लोजस्ता नदी पर्छन् । 



  • प्रकाशित मिति : माघ २१, २०७५ साेमबार २०:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया