गठबन्धन दलका नेताहरु भन्छन् : संविधान र अहिलेसम्मका उपलब्धि बचाउन गठबन्धन जित्नु आवश्यक

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धन जित्नु आवश्यक रहेको बताएका छन् । देउवाले नागरिकता पाउनका लागि समेत गठबन्धन जित्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

उनले भने, ‘पाँचदलीय गठबन्धन जित्नैपर्ने आवश्यकता छ । अन्यथा गठबन्धनकारी सम्पूर्ण घटक दलको अस्तित्व समाप्त हुन्छ ।’ उनले देश, संविधान र अहिलेसम्मका उपलब्धिलाई बचाउन गठबन्धन जित्नुपर्ने जिकिर गरे ।
 
त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नजिते गठबन्धनमा आबद्व सम्पूर्ण दलको बिजोग हुने दाबी गरेका छन् । उनले गठबन्धन जिते भोली राजदूत, राष्ट्रिय सभा सदस्यसहितका राजनीतिक लाभ लिने अवसर बाँकी नै रहने र नजिते सबै समाप्त हुने जिकिर गरे । 

सर्लाही–२ सहितका क्षेत्रहरुमा गठबन्धनभित्रै पनि अर्का उम्मेदवार रहेको ठाउँमा आइतबारसम्म कुनै एकलाई आधिकारिक बनाइने र नमान्ने उम्मेदवारलाई कारबाही गरिने उनले बताए । 

अध्यक्ष प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दुःखद् भएको बताए । प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए । उनले स्थानीय चुनावमा एमालेले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

‘मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदै छन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने ।

मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो । अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे ।



मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस र मधेसीको मात्र नभई गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका समेत विरोधी रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछि नलाग्न मधेसी जनतालाई आग्रह गरेका छन् । नेपालले नेकपा एमाले मधेसविरोधी शक्ति भएको बताए । 



‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन बलियो हुँदैन । गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको छ । त्यसैले एकताबद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुहोला,’ उनले भने ।

ओलीका भ्रामक कुरामा नपर्न र नअलमलिन कार्यकर्तालाई उनले आग्रह गरे ।  नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेसविरोधी भएको प्रष्ट हुने उनले बताए ।

लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले गत स्थानीय तहको निर्वाचनको नतिजालाई इस्यू बनाएर आगामी चुनावमा तितामिठा कुराहरु नकोट्याउन आग्रह गरे । 

गठबन्धनको कार्यदलका संयोजक रामचन्द्र पौडेलले मधेसमा केपी ओली र एमाले जित्न लागेको जस्तो हाय–हाय गर्नु मधेस र मधेसीको अहितमा रहेको बताए । ओली र एमालेको चरित्र बुझ्न उनले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महेन्द्र राय यादवलाई मञ्च भरिईसकेपछि आसन ग्रहणका लागि निम्त्याएपछि उनी मञ्च बहिष्कार गरेर दर्शकदिर्घामै बसेका थिए । उनलाई प्रचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने क्रममा दुःख नमान्न र मुख्य मिसन पूरा गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगानासहितका नेताहरुले सम्बोधन गरेका थिए ।

  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार १९:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया