डा. अरुणा उप्रेतीका सुझाव: तिहारमा यसरी गराैँ स्वास्थ्यकाे ख्याल

मिठाईको पर्व तिहार हामीले मनाउँदै छाैँ । चाडपर्व हो भनेर मानिसहरूमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको रहेको हुन्छ, तर, यसरी मनलागी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । 

तिहारको समयमा प्रयोग हुने धेरैजसो बजारिया खाद्य सामग्री अस्वस्थ पाइने गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट आउने गरेका छन् । मिठाईका परिकार पनि अस्वस्थ हुने गर्दछन् । तिहारको वेलामा मिठाई पसलमा भिडभाड देखिन्छ । तसर्थ, तिहारको समयमा खरिद गरिने मिठाई अस्वस्थ हुन पनि सक्छ ।

चाडपर्वमा स्वास्थ्यमा सुरक्षित हुनु महत्वपूर्ण हुन्छ । तिहारको वेला मानिसहरू मिठाईको प्रयोग धेरै गर्छन् । धेरै मिठाई खाँदा प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पर्छ । जो मानिस दीर्घरोगबाट ग्रसित रहेका छन्, जस्तै: डाइबिजिट, मुटुरोग, मधुमेह, उच्चरक्तचापजस्ता रोग भएका मानिसले सकेसम्म कम मिठाई खानुपर्छ । 

बजारमा पाइने मिठाई अत्यधिक चिल्लो मिसाइएको हुन्छ । त्यसैगरी, अखाद्य रगंहरू मिसाइएको हुन्छ । जसको प्रयोगले हात तथा छालामा एलर्जी हुने गर्दछ । 

तिहारमा मिठाई खानैपर्छ भन्ने पनि छैन । रमाइलो गर्नका लागि अन्य उपायद्वारा पनि गर्न सकिन्छ । रमाइलोकै लागि भनेर रक्सी अन्य खाद्य पदार्थ पनि धेरै खानु राम्रो होइन । 

तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई माया गरेर स्वास्थ्य राम्रो होस् र दीर्घायु होस् भनेर कामना गर्ने हो भने सकेसम्म बजारको मिठाई किने उनीहरूलाई दिनुहुँदैन । नाम चलेको ठाउँबाट किनेको मिठाई राम्रो हुन्छ भन्ने भ्रम रहेको छ, हामीमा । बजारमा राखिएका मिठाईमा धेरै चिल्लो हुन्छ । जुन मिठाईलाई बारम्बार एउटै तेलमा पकाइएको हुन्छ । त्यसले यस्तो किसिमको वस्तु उत्पादन गर्छ कि, मुटुलाई प्रत्यक्ष रूपमा असर गर्ने गर्दछ । 



घरमा बनाएको मिठाईको सामग्री बजारको भन्दा अत्यन्तै राम्रो हुन्छ । तिहारमा दाजुभाइलाई मरमसला दिने गरिन्छ । त्यो एकदम राम्रो चलन हो मरमसला भएको नरिवल, छोकडा, काजु, किसमिस, बदाम स्वास्थ्यबद्र्धक सामग्री हो । 

ढुसी लागेको नरिवल खाँदा कलेजोमा खराब गर्ने गर्दछ । चाडपर्वमा दिदीबहिनी, दाजुभाइ भेट भएर मीठो–मसिनो खाने प्रचलन हुन्छ । मीठो खाने नाममा हाम्रो स्वास्थ्यमा असर परिरहेको थाहा हुँदैन । जस्तो कि, धेरै मसालायुक्त मासु खाँदा र अनावश्यक चिल्लो भएको मिठाई खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । 



हरियो तरकारी अहिले प्रशस्त मात्रामा पाइने गर्छ । तिहारमा सेल रोटीको साथमा हरियो तरकारी खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । चाडपर्वमा पाइने बजारका गुलिया मिठाईमा गुणस्तरहीन र पटक–पटक प्रयोग गरिएको तेलको प्रयोग हुन्छ । 

खानेकुरामा हालिने रंग नहाली कपडामा हाल्ने रंगको प्रयोग गरिएको हुन्छ । यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गर्छ । त्यसैले बजारको मिठाई सकेसम्म प्रयोगै नगर्ने गर्नैपरे पनि कम प्रयोग गर्नुपर्छ । मिठाईमा प्रायः मैदा र चिनी प्रयोग गरिएको हुन्छ । चिनी र मैदा पनि  स्वास्थ्यका लागि अधिक हानिकारक हुन्छन् । 

बजारमा पाइने खुवा जसमा नराम्रो पिठो र हानिकारक वस्तु मिसावट गरिएको हुन्छ । बाहिरबाट हेर्दा राम्र्रो देखिन्छ । तर, खाँदा त्यस्ता वस्तुले स्वास्थ्यमा नराम्रो असर गर्छ । 

जस्तो कि, पसलेहरूले अन्य वेला नबिकेका सामग्री तिहारमा बेच्ने गर्दछन् । बिग्रिएको नरिवल बिस्कुट बनाउँदा प्रयोग गर्ने गर्छन् । यसरी प्रत्यक्ष रूपमा मानिसले स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । 

मिठाईमा राखिने टल्किने वस्तुमा आल्मुनियम मिसावट गरिएको हुन्छ । मिठाईमा पहिला नबिकेका सामग्री तथा म्याद नाघिसकेका पिठो, तेल घिउको प्रयोग समेत हुने गर्छ ।  सडेगलेका र मिसावटयुक्त खाद्य पदार्थको उपभोग गर्दा झाडा पखला, टाइफाइट, फुड पोइजन, पेट दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ । 

चिल्लो तथा मदिरा स्वास्थ्यका लागि हानिकारक छन् । ती दुवैको सेवन गर्दा मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ । तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो भएकोले थोरै मात्रामा सेवन गर्नुपर्दछ । अधिक सेवन गर्दा झाडापखालाको समस्या निम्तिन सक्छ । 

धेरैबेर भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । चिल्लोका कारण एसिडिटी बढेर डकार आउन सक्छ । धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ । 

चिल्लो खाँदा धेरै कब्जियत हुन सक्छ । चिल्लोले अमन भएर खानेकुरा रुचि नहुन सक्छ । त्यसैले सागपात, फलफूलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ । तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हुँदा स्वास्थ्यलाई ध्यान दिएर खानु बुद्धिमानी हुन्छ । 

 

( डा. अरुणा उप्रेती जनस्वास्थ्यविद् हुन् )

  • प्रकाशित मिति : कात्तिक ८, २०७९ मंगलबार ७:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया