विद्यालयस्तरीय परीक्षा सञ्चालन गर्दै माप्य दूधकोशी गाउँपालिका

सोलुखुम्बु–माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

शिक्षा समितिका अध्यक्षसमेत रहेका  गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले जानकारी दिइन् । उक्त परीक्षा सञ्चालन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा पाँच सदस्यीय परीक्षा समिति गठन गरिएको छ । गठित समितिले परीक्षा मिति र प्रश्नपत्र तयार पार्ने छ ।
 
‘शैक्षिक गुणस्तरवृद्धि गर्ने उद्देश्यले पालिकाभरि एकैपटक परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ,उपप्रमुख मगरले भने,‘यसले शिक्षामा एकरूपता ल्याउन सहयोग पुग्ने हाम्रो विश्वास छ ।’ उनका अुनसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै निजी विद्यालयतर्फ अधिकांशको आकर्षण बढेकाले त्यसको न्यूनीकरण गर्ने प्रयासस्वरुप पालिकाले परीक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई क्रमशः नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिने उपप्रमुख मगरले जानकारी दिए । 

यस्तै कक्षा ८ बाट सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अङ्क, विद्यार्थी सङ्ख्यालगायतलाई मूल्याङ्कन गरी तीन विद्यालयलाई संस्थागत नगद रु ५० हजार, ४० हजार र ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीलाई समेत उत्प्रेरित गर्ने उद्देश्यले पुरस्कार राशि निर्धारण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। गाउँपालिकाले सञ्चालन गर्ने परीक्षामा कक्षा ५ का लागि २१ र कक्षा ८ का लागि १३ विद्यालयका करीब ६०० विद्यार्थीले सहभागिता जनाउने बताइएको छ । 

बैठकले प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालनका लागि दीर्घकालीन योजना निर्माण गर्ने निर्णय गरेको छ । यो शैक्षिकसत्रमा पालिकास्तरीय परीक्षा सञ्चालनको निर्णय गर्ने माप्यदूधकोशी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । शैक्षिकसत्र २०७४ मा थुलुङदूधकोशी गाउँपालिकाले पहिलोपटक कक्षा ८ को परीक्षा लिएको थियो । तर, यो वर्ष भने उक्त गाउँपालिकाले त्यससम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।  

शिक्षामा सुधार ल्याउने भन्दै गाउँपालिकाले शिक्षा ऐन पारित गरेर काम गरिरहेको भए पनि सुधार हुन नसकेको अभिभावक बताउँछन् । थुलुङदूधकोशी गाउँपालिका–८ का कुलबहादुर राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले सशक्त कदम चाल्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार १०:५३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया