विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध दक्षिण अफ्रिका १०४ रनले विजयी

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध दक्षिण अफ्रिका १०४ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाको यो पहिलो जित हो । उसले पहिलो खेल वर्षाका कारण जिम्बाब्वेसँग अंक बाँडेको थियो ।

बंगलादेशको यो पहिलो हार हो । उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १६.३ ओभरमा सबै विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो । उसका लागि लिटन दासले सर्वाधिक ३४ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन कमजोर रह्यो । 

दक्षिण अफ्रिकाका लागि एनरिक नोर्टजेले चार, तरबिज शाम्सीले तीन, केशव महाराज र कागिसो रबाडाले एक/एक विकेट लिए । त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डसमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनायो । उसका लागि रिली रुसोले शतकीय पारी खेले ।

५६ बलको सामना गरेका उनले आठ छक्का र सात चौकासहित १०९ रन बनाए । योसँगै रुसो जारी विश्वकपमा शतक बनाउने पहिलो ब्याटर बनेका छन् । टी–२० अन्तर्राष्ट्रियमा भने उनको यो दोस्रो शतक हो । 

त्यस्तै, ओपनर क्विन्टन डिककले पनि उत्कृष्ट पारी खेले । ३८ बलको सामना गरेका उनले सात चौका र तीन छक्कासहित ६३ रन बनाए । एडन मार्कम १० रनमा अविजित रहे । बंगलादेशका लागि शाकिवअल हसनले दुई, हसन महमुद, अफिफ हुसेन र तस्किन अहमदले एक/एक विकेट लिए । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार १३:३७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया