के चुनावपछि गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्दै छन् ?

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लामो समयदेखि चर्चामा रहेको चितवनको क्षेत्र नम्बर ३ छोडेर गोरखा–२ मा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने विषयले चर्चा पाउन थालेको छ । 

गोरखामा चुनावी अभियानमा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डका लागि मत माग्ने क्रममा उनलाई आगामी प्रधानमन्त्रीका रुपमा देख्न सकिने बताए । डा. भट्टराईले मात्र होइन, स्वयं प्रचण्डले पनि गोरखाबाट चुनाव जितेर गएपछि तालमेल मिलेको खण्डमा देशको नेतृत्व आफूले गर्न पाउने अवस्था रहेको बताए ।

प्रचण्डले कार्यक्रममा भनेका थिए, ‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना छ, त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो ।’

गोरखामा नै त्यही कार्यक्रममा प्रचण्डका लागि मत माग्दै डा. बाबुराम भट्टराईले भनेका छन्, ‘कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री हो । यही क्षेत्रले प्रधानमन्त्री पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् र ?’ डा. भट्टराईले यही क्षेत्रले मुख्यमन्त्री समेत पाउने भन्दै नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेको नाम अगाडि सारेका छन् । उनको यो कुरामा प्रचण्ड स्वयंले पनि समर्थन गरेका थिए ।

प्रचण्डका लागि आफूले निर्वाचनमा प्रतिस्पर्धा नै नगर्ने भन्दै डा. बाबुराम भट्टराईले गोरखा २ को चुनावी मैदान छाडिदिए । नेपाली कांग्रेससँग गठबन्धन भएकाले गोरखामा अब प्रचण्डका लागि सहज हुने अनुमान धेरैले गरेका छन् । 

पाँच दलीय गठबन्धनले पछिल्लो समय दलहरुबीच सिट बाँडफाँट गर्दै निर्वाचनमा होमिएको छ । सिट बाँडफाँटमा नै निकै धेरै मतभेद देखिएको पाँच दलीय गठबन्धनमा चुनावपछि कसको नेतृत्व भन्ने विषयमा खासै छलफल नभएको नेपाली कांग्रेसका एक नेता बताउँछन् ।



‘अहिले हामी चुनावकै सन्दर्भमा केन्द्रित भएका छौँ, भोलि कसले नेतृत्व गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल भएको छैन,’ नेपाली कांग्रेसका ती नेताले फरकधारसँग भने, ‘त्यसैले अहिले नै यो प्रधानमन्त्री हुँदैछ भनेर चुनावी कार्यक्रम गर्नु ठिक होइन ।’ उनका अनुसार निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको खण्डमा नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बुझाइ कांग्रेसमा छ ।

त्यसो त कांग्रेसबाट प्रधानमन्त्रीका आकांक्षीको संख्या पनि बढ्दो छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं प्रधानमन्त्रीमा दोहोरिन चाहन्छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एकपटक आफूले देशको नेतृत्व गर्न पाउनु पर्ने माग राख्दै आएका छन्, त्यही अनुसार उनी निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, प्रकाशमान सिंहलगायतले पनि आवश्यक परे वा आफूले अवसर पाएमा प्रधानमन्त्री आफू बन्ने चुनावी कार्यक्रमहरुमा बताउँदै आएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समेत आफू प्रधानमन्त्रीको रेसमा रहेको सार्वजनिक रुपमा भनिसकेका छन् । 



नेपाली कांग्रेसमा यति धेरै आकांक्षी हुँदाहुँदै के प्रचण्डले प्रधानमन्त्री बन्ने अवसर पाउँदै छन् त ?

‘त्यो त भोलिको समीकरणले बताउने कुरा भयो,’ नेपाली कांंग्रेसका ती नेताले भने, ‘गठबन्धनमा कसरी स्पष्ट बहुमत ल्याउने भन्ने विषयमा अहिले चर्चा भएको छ, भोलिको सरकारको नेतृत्वको विषयमा चर्चा भएको छैन । भोलि कस्तो समीकरण बन्छ, कसरी अगाडि बढिन्छ भन्ने कुराको निक्र्योल चुनावको नतिजा आए पछि थाहा हुन्छ ।’

  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १०:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया