बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने

गलकोट– स्थानीय सरकारको साझेदारीमा बागलुङमा कृषि विज्ञान क्याम्पस सञ्चालन हुने भएको छ । बागलुङ नगरपालिकाको साझेदारीमा पोखरा विश्व विद्यालयको सम्बन्धनमा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणको सुनिश्चितता नगरले गर्ने गरी क्याम्पस सञ्चालन गर्न लागिएको हो ।

बागलुङमा स्नातक तहको कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन भइसकेको नगर प्रमुख जनकाराज पौडेलले जानकारी दिए । ‘कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि क्याम्पस सञ्चालन गर्न आवश्यक प्रक्रियाको टुङ्गो लागएका छौँ’ उनले भने, ‘नगर कार्यपालिकाबाट निर्णय गरेर क्याम्पस सञ्चालनका लागि पोखरा विश्वविद्यालय पठाइएको छ ।’   

पोखरा विश्वविद्यालयले क्याम्पस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सहमत भएको छ । नगरले क्याम्पस सञ्चालनका लागि आवश्यक २० रोपनी जग्गा प्राप्त गरिसकेको छ । अन्य जग्गाको व्यवस्थापनका लागि अन्तिम टुङ्गो लाग्न बाँकी छ । 

बागलुङ नगरपालिका–४ निरयघाटमा पन्त गुठीको नाममा रहेको व्यक्तिगत जग्गा नगरपालिकाले निःशुल्क लिएर क्याम्पस निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । जग्गा दातासमेत क्याम्पस सञ्चालनका लागि नगरपालिकालाई जग्गा प्रदान गर्न इच्छुक रहेको बताइएपछि क्याम्पस सञ्चालन गर्ने तयारी थालिएको थियो । निरयघाट बागलुङ, म्याग्दी र पर्वतका विद्यार्थीलाई पायक पर्ने स्थान भएको प्रमुख पौडेलले बताए  ।  

गैरनाफामूलक शैक्षिक संस्थाका रुपमा विकास गर्नका लागि स्थानीय सरकारको साझेदारीमा क्याम्पस सञ्चालन गर्न लागिएको बागलुङ नगरपालिका र पोखरा विश्वविद्यालयका मध्यस्थकर्ता निर्मल सापकोटाले बताए । ललितपुरस्थित खोपा क्याम्पसको मोडेलमा कृषि विज्ञान क्याम्पस सञ्चालन गरिने सापकोटा बताउनुहुन्छ । महङ्गो शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विभिन्न ठाउँमा भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने सापकोटाको भनाइ छ । क्याम्पसमा हाल ५० विद्यार्थीलाई अध्यापन गराइनेछ । 





  • प्रकाशित मिति : माघ २३, २०७५ बुधबार ९:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया