काठमाडौ –रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) ले विगत डेढ दशकदेखि होटल, रेष्टुरेन्ट तथा बारमा उपभोक्तामाथि लगाउँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको राष्ट्रिय उपभोक्ता मञ्च र कञ्जुमर आई नेपालले स्वागत गरेको छ ।
सेवा शुल्कको १० प्रतिशतले उपभोक्तामा परेको प्रभाव विषयमा छलफल गर्न सञ्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उपभोक्ता मञ्च र कञ्जुमर नेपालले रेवानको उक्त निर्णयको समर्थन गरेका हुन् ।
गत माघ १४ गते रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) को भेलाले होटल, रेष्टुरेन्टमा वस्तु तथा सेवा उपभोग गरेवापत लाग्ने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो ।
कुनै पनि सेवा प्रदायक संस्थाले उपभोक्तासँग सेवाको निर्धारित अधिकतम मुल्यमा थप व्ययभार पर्ने गरि लिने कर नेपालको संविधान २०७२, उपभोक्ता संरक्षण ऐन २०७५ तथा आर्थिक ऐन नियम विपरित हुने कञ्जुमर नेपालको भनाइ छ ।
उपभोक्तासँग सेवाको मूल्यभन्दा बढी कर लिइनु उपभोक्ताको हकविरुद्ध भएको कन्जुमर नेपालकी अध्यक्ष बिमला खनालले बताइन् । उनले उपभोक्ताको अधिकार हनन हुन नदिन प्रतिकार समेत गर्नुपर्ने बताइन् ।
यता रेवानको यो निर्णयविरुद्ध केही मजदुर संगठनले विरोध गर्दैै रेवानका पदाधिकारी तथा व्यवसायीहरुलाई यो निर्णय फिर्ता लिन धम्किपूर्ण दवाब दिएकोप्रति उपभोक्ता मञ्चले भत्सर्ना गरेको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मजदुरलाई राज्यको तर्फबाट न्यूनतम पारिश्रमिक लागू गरि तिनीहरुको बैयक्तिक जीवनयापनको ग्यारेन्टी समेत गरिसकेको अवस्थामा गैरकानुनी ढंगले रकम संकलन नगरी प्रतिस्पर्धात्मक बजार निर्माण गर्दै गुणस्तरिय सेवा प्रदान गर्नुपर्ने बताए ।
यस्तै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले थप १० प्रतिशत सेवा शुल्क लिने होटल, रेष्टुरेन्ट तथा बारमा उपभोक्तालाई नजान आग्रह गरेका छन् । त्यस्तै पूर्व महालेखा परीक्षक सुकदेव भट्टराईले कर छल्ने, गैरकानुनी काम गर्नेहरुलाई नागरिक समाजले दवाब दिनुपर्ने सुझाव दिए ।
१३ डिसेम्बर २००५ मा ट्रेड युनियन र होटल संघ नेपालबीचको सम्झौता पछि उपभोक्ताबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क उठाउन सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।