आचारसंहिताविपरीत वडाध्यक्ष राउत र कार्यपालिका सदस्य दास महेन्द्र यादवको घरदैलोमा

जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र कार्यपालिका सदस्य आफ्नै वडामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको घरदैलोमा सहभागी भएका छन् ।
 
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष जितबहादुर राउत र कार्यपालिका सदस्य सञ्जुदेवी दास धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवसँग आफ्नै वडामा उनको घरदैलोमा सहभागी भएका हुन् । 

जबकि आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री अथवा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको हो । 

संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा मात्र संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाएको छ ।

त्यस्तै, आचारसंहिताबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारी पनि आफू बहाल रहेको स्थानीय तहमा प्रचारप्रसारको काममा संलग्न हुन पाउने छैनन् । 

उनीहरु आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा मात्र सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् । तर, जनकपुरधाममा भने ठिक त्यसको विपरीत देखिएको छ । 



नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ की वडा सदस्यसमेत रहेकी कार्यपालिका सदस्य दास र वडाध्यक्ष राउतले आफ्नै वडामा कांग्रेसका उम्मेदवारको पक्षमा घरदैलोमा सहभागी भई मत मागिरहेका छन् । 

मंसिर ४ गते हुने निर्वाचनमा धनुषाको क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवसँगै कार्यपालिका सदस्य संजु र वडाध्यक्ष जितबहादुर पनि बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ मा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवारसँगै घुमिरहेको देखिएका छन् । 



जबकि कुनै पनि वडाध्यक्ष आफ्नै वडाभित्र कुनै उम्मेदवारको पक्षमा मत माग्न नपाउने आचारसंहितामा स्पष्ट उल्लेख रहेको छ ।

यस सम्बन्धमा सञ्जुले आफूलाई आचारसंहिताकोबारेमा त्यति धेरै जानकारी नरहेकोले भुलबस यस्तो गल्ती भएको स्वीकार गरेकी छन् । उनले कार्यपालिका सदस्यले आफ्नो पालिकाभित्र मत माग्न नपाउने कुराको जानकरी नरहेकोले आइन्दा यस्तो गल्ती नदोर्होयाउने प्रतिबद्धतासमेत जनाएकी छन् । 

यता, वडाध्यक्ष राउतले भने आफू महेन्द्र यादवको पक्षमा मत माग्न बिहीबार आफ्नै वडामा आयोजित घरदैलोमा सहभागी भएको स्वीकार्दै निर्वाचन आयोगले आफूसँग स्पष्टीकरण मागे आफू स्पष्टीकरण दिन तयार रहेको बताए । 

‘हो म महेन्द्र यादवको पक्षमा आफ्नो वडामा मत माग्दै हिँडेको छु’ उनले भने,‘मलाई मेरो वडाको मतदाताले चिन्छन् भने मत माग्न म अन्तै जादिनँ । आयोगलाई मसँग स्पष्टीकरण सोध्नु छ भने सोधोस् ।’

यस सम्बन्धमा नगरप्रमुख मनोजकुमार साहले उनीहरूलाई आचारसंहिताकोबारेमा धेरै जानकारी नभएको हुनसक्ने बताए । 

साहले वडाध्यक्ष राउत र कार्यपालिका सदस्य सञ्जुलगायत स्थानीय तहका अधिकांश पदाधिकारीहरू आचारसंहिताबारे अझै अनभिज्ञ रहेको स्विकार्दै आगामी दिनमा यसलाई सुधार्दै जाने बताएका छन् ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १८:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया