सिटौलाले रिङ आउट गर्लान् राजतन्त्रका हिमायती लिङ्देनलाई ? यस्तो छ झापा–३ को अवस्था

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको देशमा गणतन्त्र ल्याउन निकै महत्वपूर्ण भूमिका छ । गणतन्त्र स्थापनामा निर्णायक भूमिका निर्वाह गरेका सिटौलाले यसपटक प्रतिनिधि सभा सदस्यका लागि २०७४ सालको जस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्दैछन् ।

२०७४ सालमा राजतन्त्रको वकालत गरिरहेका र देशमा संघीयता खारेज गर्नु पर्ने मागलाई जोडतोडसँग उठाइरहेका लिङदेनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि साथ दिएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बलमा उनले सिटौलालाई संसदमा पुग्न रोकेका थिए । अनि पहिलो पटक उनी सांसद पनि बनेका थिए । 

पछिल्लो पटक कमल थापालाई महाधिवेशनबाट हराएर राप्रपाको अध्यक्ष बनेका लिङदेनको क्रेज बढेको अनुमान गरिएको छ । तर, यसपटक झापा ३ मा उनलाई २०७४ सालमा सघाएको नेकपा माओवादी केन्द्र अर्को ध्रुवमा छ, अर्थात् माओवादी केन्द्रले यसपटक सघाउने छ, कृष्णप्रसाद सिटौलालाई ।

एमालेको साथ पाएकाले आफूले जित निकाल्नेमा ढुक्क छन् । त्यस्तै, माओवादी केन्द्र तथा सत्ता गठबन्धनका अन्य दलको साथ पाएका सिटौलाले पनि २०७४ को बदला लिने पक्षमा छन् । २०७४ सालमा लिङ्देनले ४४ हजार ६ सय मत ल्याउँदा सिटौलाको झन्डै १३ हजार कम मत आएको थियो ।

सिटौलाले २०४८ साल यताका सबै निर्वाचनमा यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका छन् । यसपटक पनि सातौं पटक चुनावी मैदानमा छन् । यसअघि उनले तीन पटक यहाँबाट जित निकालेका थिए भने तीन पटक हारको सामना गरेका थिए । यसपटक उनले जित निकाल्ने आधारहरुमा एमालेको मत तान्नुलाई पनि मानेका छन् ।

‘एमाले गणतन्त्रको पक्षधर हो, उसले राजावादीलाई मत हाल्नु हुँदैन,’ सिटौलानिकट एक नेता भन्छन्, ‘सिटौला दाइले अहिले यही कुरालाई आफ्नो अजेन्डा बनाएर त्यहाँ एमालेको मत तान्ने प्रयासमा हुनुहुन्छ ।’ ती नेताका अनुसार सिटौलाले कांग्रेस र माओवादी केन्द्रसँग भएको मतमा ३ हजार मत मात्र थप्न सके उनले जित निकाल्नेछन् ।



अर्कोतिर, राप्रपा अध्यक्ष भए पछि थप क्रेज बढाएका राजेन्द्र लिङ्देनले पाँच वर्षमा आफूले गरेका काम र एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रचारप्रसारमा समय खर्चिँदै आफूले नै जित निकाल्ने पक्षमा छन् । 

लिङ्देनका लागि एमाले र राप्रपा नमिल्दा हुन् त यो क्षेत्रमा कांग्रेस पहिलो पार्टी हुने थियो । दोस्रोमा नेकपा एमाले र तेस्रोमा मात्र राप्रपा हुने देखिन्थ्यो । तर, एमालेले सहयोग गरेकाले राप्रपा अहिले बलियो अवस्थामा छन् ।



यो क्षेत्रमा अहिले राप्रपाका लिङ्देनका लागि सबैभन्दा ठूलो चुनौति बनेका छन्, डम्बर गिरी । उनले त्यहाँ बागी उम्मेदवारी दिएर एमालेले राप्रपालाई मत दिन नहुने सन्देश छरिदिएका छन् ।

यस्तो अवस्थामा लिङ्देनलाई समर्थन नगर्ने एमालेको मत कृष्णप्रसाद सिटौलालाई जाने देखिन्छ । यस्तो भएको खण्डमा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिङ्देन संसदमा देखिने छैनन् ।

गणतन्त्रका पक्षपोषक सिटौलाले यसपटक राजतन्त्रका हिमायती राजेन्द्र लिङ्देनलाई रिङ आउट गर्न सक्छन् कि सक्दैनन्, त्यसका लागि ४ मंसिर कुर्नुको विकल्प छैन ।

  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १२:६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया