जनकपुरधाम–१४ को वडा कार्यालयमा वडा सदस्यहरूले लगाए ताला

जनकपुरधाम उपमहानगरपालिकाको एक वडा कार्यालयमा वडा सदस्यहरूले तालाबन्दी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ को वडा कार्यालयमा वडा सदस्यहरूले तालाबन्दी गरेका हुन् । 

वडाध्यक्ष पुण्य प्रताप यादवले आफूहरूलाई कुनै खोजविन नगरी मनोमानी तरिकाले काम गरिरहेको भन्दै वडासदस्यहरुले आइतबारदेखि वडा कार्यालयमा अनिश्चित कालका लागि ताला लगाएका छन् । 

वडा सदस्यहरूले वडाध्यक्ष यादवले सेवाग्राहीबाट अतिरिक्त रकम (घुस) लिने गरेको, निर्वाचित भएको ६ महिना बितिसक्दासमेत कुनै काम नै नगरेको, महिनामा अनिवार्य हुने तीन वटा बैठकसमेत बस्न नदिएको, वडा कार्यालयमा नियमित नबस्ने गरेको लगायतका आरोप लगाएका छन् । 

वडा सदस्य जीवछ दासले यस विषयमा वडाध्यक्ष यादवलाई आफूहरूले पटक पटक ध्यानाकर्षण गराउँदा समेत उनले कुनै वास्ता नगरेपछि शनिबार वडा सदस्यहरु बाध्य भएर कार्यालयमा ताला लगाएको बताए । 

वडा सदस्य रमेश साहले वडामा महिनामा हुने तीन वटा बैठक समयमा हुनुपर्ने, बैठकको निर्णय अनुसार काम गर्नुपर्ने, पूर्व वडासचिव र जनस्वास्थ्यका कार्यालय सहयोगीलाई कार्यालय परिसरबाट हटाउनु पर्ने, सरसफाइमा प्रयोग भएको ट्याक्टर र खर्च पारदर्शी हुनुपर्ने, वडाभित्रको सामुदायिक विद्यालयमा पठनपाठन सुधार हुनुपर्ने लगायतका आफूहरूको माग रहेको जानकारी दिए । 

यस सम्बन्धमा वडाध्यक्ष यादवले आफूमाथि लगाइएको सम्पूर्ण आरोप निराधार र कपोकल्पित रहेको बताए । उनले आफूले सबै वडा सदस्यहरूको व्यक्तिगत स्वार्थ कदापि पूर्ति गर्न नसक्नेसमेत बताए । 



वडाध्यक्ष यादवले वडाभित्रका सम्पूर्ण कामहरू नियमित रूपले भइरहेको दाबी गर्दै केही वडा सदस्यहरू राजनीतिक उक्साहटमा लागेर आफू विरुद्ध विभिन्न जालझेल र प्रपञ्च रचेको जिकिर गरे । 
जनकपुरधाम–१४ का वडाध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका छन् भने अन्य चार जना वडा सदस्यहरु नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । 



  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १७:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया