‘विनाढेउवाके फ्रि-भिसा’ भनेबापत माधव नेपाललाई कारबाहीका लागि आयोगले रौतहट प्रहरीलाई पठायो फाइल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै निर्वाचन आयोगले रौतहट प्रहरीलाई पत्र पठाएको छ । 

निर्वाचन आचारसंहिताविपरीत जनतालाई फ्रि–भिसा, फ्रि–टिकटको प्रलोभन देखाएको भन्दै आयोगले नेपाललाई स्पष्टीकरण सोधेको थियो । ‘विनाढेउवाके फ्रि–भिसा, फ्रि टिकट’ भन्दै नेपालले भाषण गरेको भिडियो भाइरल बनेको थियो ।

आयोगले अध्यक्ष नेपालले आयोगलाई दिएको स्पष्टीकरणपत्र, सार्वजनिक कार्यक्रममा बोलेको भिडियोसहित समावेश गरेर जिल्ला प्रहरी कार्यालय रौतहटलाई फाइल पठाएको छ । 

यसअघि अध्यक्ष नेपाललाई कारबाही गर्न फाइल पठाउने वा नपठाउने भन्नेमा प्रमुख आयुक्त दिनेश थपलिया र अन्य आयुक्तबीच कुरा नमिल्दा फाइल आयोगमै रोकिएको थियो । 

आयोगले कार्तिक ३ गतेको निर्णय रोकेर प्रमुख आयुक्त दिनेशकुमार थपलियाको आदेशमा अर्को निर्णय गरेर फाइल रौतहट पठाइएको हो ।

नेपाललाई कारबाही गर्ने कि नगर्ने भन्ने सम्बन्धमा निर्वाचन आयुक्तबीच एकमत हुन नसकेको स्रोतले बताएको छ । सर्वसम्मत निर्णय हुन नसकेपछि प्रमुख निर्वाचन आयुक्तले एकल रुपमा उक्त पत्र रौतहट प्रहरीलाई पठाएका हुन् ।  



नेपालले भने आफूले निर्वाचन आचारसंहिताविपरीत केही नबोलेको दाबी गरेका छन् । उनले स्पष्टीकरणपत्रमा भनेका छन्, ‘निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार, मतदाता, निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन । कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने कुनै काम गरेको छैन । पत्रमा भनिए जस्तो अभिव्यक्ति मैले दिएको छैन ।’ 



  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार २२:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया