मतदाता शिक्षाकाे अभाव : कर्णालीमा ३१ हजार मत बदर हुन सक्ने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ बखत कर्णाली प्रदेशभर पाँच लाखभन्दा बढी मत खसेको थियो । आठ लाखभन्दा बढी मतदाता रहेको कर्णालीमा सो समय बदर मतको संख्या पनि उत्तिकै नै थियो ।

प्रदेशसभातर्फ कर्णालीमा कुल पाँच लाख ८१ हजार नौ​ सय ४८ मत खसेको थियो । सोमध्ये पाँच लाख ५५ हजार चार सय ३७ मत मात्र सदर भए । २६ हजार पाँच सय ११ मतलाई निर्वाचन आयोगले बदर मत बतायो । 

कर्णाली प्रदेशमा बदर मतको संख्या जिल्लागत रुपमा हेर्ने हो भने सबैभन्दा बढी सल्यानमा देखिन्छ । प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानमा जिल्लामा ८३ हजार सात सय ६६ मत खसेको थियो । जसमध्ये ७७ हजार आठ सय ६६ मत सदर भएका थिए, पाँच हजार नौ सय मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

सोपछि दैलेखमा कुल चार हजार चार सय ३७ मत बदर भएका थिए । जाजरकोटमा चार हजार ५८, सुर्खेतमा तीन हजार नौ सय १६ मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ । यसैगरी कालिकोटमा दुई हजार चार सय ५७, रुकुम पश्चिममा दुई हजार तीन सय ६६, जुम्लामा एक हजार पाँच सय ५२, मुगुमा आठ सय ५६, हुम्लामा ६ सय आठ र डोल्पामा तीन सय ६१ मत बदर भएको थियो ।

यसैगरी प्रतिनिधिसभा निर्वाचनतर्फको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पनि बदर मतको अवस्था उस्तै देखिन्छ । प्रतिनिधिसभातर्फ भएको मतदानमा सल्यानमा कुल पाँच हजार नौ सय ५६ मत बदर भएको थियो । यसैगरी डोल्पामा पाँच सय ६१, मुगुमा ६ सय ४८, जुम्लामा एक हजार सात सय २५, कालिकोटमा दुईहजार नौ सय ३९ हुम्लामा एक हजार एक सय ४२ जाजरकोटमा तीन हजार नौ सय ४१, दैलेखमा पाँच हजार चार सय चार, सुर्खेतमा चार हजार एक सय ५१ र रुकुम पश्चिममा तीन हजार पाँच सय ७० मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।

अघिल्लो निर्वाचनमा ४.५५ प्रतिशत मत बदर



प्रदेशसभा निर्वाचन, ०७४ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत कर्णालीमा कुल ६८ दशमलव ७१ प्रतिशत मत खसेको थियो । सो समयमा प्रदेशसभातर्फको निर्वाचनमा कुल पाँच लाख ८१ हजार नौ सय ४८ मतदाताले मतदान गरेका थिए । कुल मतमध्ये चार दशमलव ५५ प्रतिशत मत बदर भएको थियो ।

यसै तथ्यांकलाई आधार मान्ने हो भने कर्णालीको हालको निर्वाचनमा बदर मत ३१ हजार बढी पुग्ने सम्भावना देखिन्छ । मंसिर ३ गतेसम्म १८ वर्ष पूरा हुने १० लाख आठ हजार चार सय तीनजना मतदातालाई निर्वाचन आयोगले कर्णालीको नामावलीमा समावेश गरेको छ । अघिल्लो निर्वाचनको तथ्यांकसँग भिडाउँदा हालको निर्वाचनमा ६ लाख ९२ हजार आठ सय ७४ मत खस्ने आकलन गर्न सकिन्छ । र, सोहीअनुरुप अघिल्लो निर्वाचनझैँ ३१ हजार पाँच सय २५ मत बदर हुने सम्भावना देखिन्छ ।
     
कर्णालीमा हाल नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन मतदान केन्द्र रहेको आयोगले जनाएको छ । कुल मतदातामध्ये चार लाख ९७ हजार नौ सय ८० जना महिला, तीनजना अन्य र पाँच लाख १० हजार चार सय २० जना पुरुष छन् ।



कस्तो मत बदर हुन्छ ?

हालको समयमा स्थानीय तहमार्फत मतदाता शिक्षा कार्यक्रम अघि बढाइएको छ । बदर मतको संख्या न्यूनीकरण गर्न निर्वाचन आयोगले नमुना मतपत्र, निर्वाचन शिक्षालगायत पठन सामग्री स्थानीय तहलाई उपलब्ध गराएको छ ।

‘कस्तो अवस्थामा मत बदर हुन्छ ?’, भन्ने विषयमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र, उम्मेदवारको चुनाव चिह्नमा स्पष्ट मतदान चिह्न नभएमा, मतपत्र धेरै खुम्चेर या च्यातिएर बुझ्न नसकिने अवस्थामा भएमा, मतपत्र धमिलो या फोहोर भई मत बुझ्न वा ठम्याउन सक्ने अवस्थामा नभएमा र उम्मेदवारको निर्धारित चिह्नभन्दा बाहिर मतचिह्न भएमा सो मत बदर हुने निर्वाचन आयोगको सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

यसैगरी उम्मेदवारको चिह्न नभएको खाली ठाँउमा मतचिह्न भएमा, मतदान नगर्ने सर्तमा निर्वाचन अधिकृतलाई फिर्ता दिएको मतपत्र भएमा, एकभन्दा बढी उम्मेदवारको चिह्नमा मतचिह्न भएमा, निर्वाचन आयोगले तोकेकोबाहेक अन्य कुनै मतपत्रमा मत खसाइएमा, मतपेटिकाबाहिर मतपत्र पाइएमा र फर्जी मतपत्र पाइएमा बदर हुने उनले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १६:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया