धनुषा–३ (ख)का स्वतन्त्र उम्मेदवार अम्भुको १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (ख)का स्वतन्त्र उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आसन्न निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (ख)का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
 
‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशुल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउनेछु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।
बालबालिकाको उज्ज्वल भविष्यका लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैलान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयको सहज उपलब्धता गराउने अम्भुको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

साथै राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । ‘राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका निमित्त सदैव प्रतिबद्ध भई प्रदेशसभामा प्रतिनिधित्व गर्दै प्रदेशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धन गर्छु,’ उनले भनेका छन् ।

यस्तो छ अम्भुको १५ बुँदे प्रतिबद्धता 

१. बालबालिकाहरुको उज्जवल भविष्यको लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउनेछु ।

२. निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई आफ्नो वडा, नगर, क्षेत्र, जिल्ला लगायत समग्र प्रदेशलाई पूर्ण साक्षर बनाउनेछु ।

३. प्राथमिक उपचारदेखि आकस्मिक उपचारसम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशुल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउनेछु ।



४. लागुपदार्थ एवं दुर्व्यसनमा लागेका युवापिँढीको उद्धार गर्न पुनर्स्थापना केन्द्रको स्थापना गरी लागुपदार्थ एवं दुर्व्यसनमुक्त प्रदेश निर्माणका लागि कानुन बनाई कार्यान्वयन गराउनेछु । 

५. सीपमूलक तालिमको नियमित एवं निःशुल्क व्यवस्था गरी दक्ष जनशक्ति निर्माण एवं आफ्नो क्षेत्रभित्र नै उद्योग, व्यवसाय गरी आत्मनिर्भर बनाउने एवं पूर्ण रोजगारको व्यवस्था गराउनेछु । 



६. युवाहरुमा नेतृत्व विकास एवं सामाजिक दायित्व निर्वाहनका लागि परिष्कृत क्षमता अभिवृद्धि तालिमको नियमित एवं निःशुल्क व्यवस्था गरी आदर्श एवं नैतिकवान समाज निर्माणका लागि कानुन बनाई कार्यान्वयन गराउनेछु ।

७. प्रदेशको हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चितताका लागि निःशुल्क महिलामैत्री होस्टेलसहितको कलेज एवं उच्च शिक्षाको व्यवस्था गर्ने एवं महिला शोषण र हिंसाविरुद्धको कानुनको कार्यान्वयन गराउनेछु ।

८. दलित तथा पिछडावर्ग, विधवा एवं एकल महिला र वृद्धवृद्धा, अपांग र असहायहरुको संरक्षण, सम्बर्द्धन एवं समतामूलक विकास कार्यमा सहभागितका लागि कार्यान्वयन गराउनेछु । 

९. प्रदेशसभा धनुषा क्षेत्र नं ३ (२) को कृषि उत्पादनले यस क्षेत्रका लागि र समग्रमा ८ जिल्लाको कृषि उत्पादनले यस प्रदेशको भोक टार्न सक्ने क्षमता विकासका लागि कृषि यान्त्रिकीकरण एवं दीर्घकालीन सोचले विकास तथा प्रांगरिक मलको प्रयोगमा वृद्धि एवं रासायनिक किटनाशक मलको प्रयोगमा नियन्त्रण गराउनेछु ।

१०. सांस्कृतिक धरोहरको संरक्षण, सम्बर्द्धन, विकास जीर्णोद्धार गराई जनकपुरधामको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा गराउनेछु ।

११. पर्यटन, प्रवर्द्धनका निम्ति मधेस प्रदेशको राजधानी जनकपुरधामलाई वैवाहिकस्थलको रुपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउन आवश्यक पूर्वाधार निर्माण गराउनेछु ।

१२. सफाइकर्मी कर्मचारीको स्वास्थ्योपचार, स्वास्थ्यबिमा, जीवनबिमा निःशुल्क गराई स्थायी दरबन्दी गराउनेछु ।

१३. सामाजिक न्याय, मौलिक हकको प्रत्याभूति, भ्रष्टाचार निमुर्लकरण गराउन एवं प्राकृतिक आपतको समयमा विकासका पूर्वाधारहरु (गास, वास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार आदि)को प्रत्याभूति गराउनेछु ।

१४. समृद्ध एव नमुना सहरको रुपमा मधेस प्रदेशको राजधानी जनकपुरधामलाई चिनाउन फुटपाथ व्यवस्थापन, नाला व्यवस्थापन, फोहोर व्यवस्थापन, बजार क्षेत्र व्यवस्थापन, रेल्वे क्रसिङ व्यवस्थापन तथा हाईवे व्यवस्थापन जस्ता विषयमा कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय गर्नेछु ।

१५. प्रदेशसभा संसदीय क्षेत्रभित्र मुख्य–मुख्य सडकमा कालोपत्रे निर्माण, जीर्णोद्धार, सुलभ शौचालय तथा पिउने पानीको व्यवस्थापन, सार्वजनिक भवन एवं पार्क निर्माण गराउनेछु ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १७:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया